काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३३ हजार २०० ले बढेको छ ।
गत साउन १३ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला ७७५ कायम भएको थियो ।
यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला ४३५ रुपैयाँ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।
लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला ८०० ले बढेको छ ।
महासङ्घले मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७६० निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० रुपैयाँ तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १ हजार ९४२.२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ ।