काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले यही साउन २६ र २७ गतेका लागि तोकिएको साधारणसभा स्थगित गरेकामा आपत्ति जनाएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले बिहीबार महासंघ पदाधिकारीको बैठकले विधान विपरीत हतारमा निर्वाचन स्थगित गरेको बताए ।
‘निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्ने हो,’ उनले भने, ‘तर हतार हतारमा पदाधिकारी बैठकले मात्रै निर्णय गर्नु विधान विपरीत हो ।’
महासंघले सरकारलाई निर्वाचन गर्न अनुमति दिन आग्रह गर्दै माग्दै पत्र पठाए पनि सरकारबाट पत्रको जवाफ नआउँदै निर्वाचन स्थगित गरेर महासंघ पदाधिकारीले गल्ती गरेको उनको भनाइ छ ।
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चुनाव गर्न आफूले प्रस्ताव राख्दा केही पदाधिकारीले स्वास्थ्य भन्दा महासंघ ठूलो भएको भन्दै आफूलाई हतोत्साही पार्न खोजेको ढकालको आरोप छ ।
चुनावी नतीजा आफ्नो पक्षमा आउने देखेपछि हतार हतारमा निर्वाचन स्थगित गरिएको उनको दाबी छ ।