चक्रपथमा मोनो रेल चलाउने महानगरको योजना अन्योलमा, डीपीआरमै हलो अडकियो

काठमाडौं । चक्रपथमा मोनो रेल चलाउने काठमाडौं महानगरपालिकाको योजना अन्योलमा परेको छ । रेल सञ्चालनका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अघि बढ्न नसक्दा महानगरको महत्वकांक्षी योजना अन्योलमा परेको हो ।

 

हाल मोनोरेलको चिनियाँ कम्पनी ‘चाइना सेन्ट्रल रेल कम्पनी’ ले डीपीआर निर्माण गरिरहेको छ । उक्त कम्पनीले आफ्नै खर्चमा आयोजनाको ‘फिजिबिलिटी’  अध्ययन समेत गरिरहेको छ । चाइना सेन्ट्रलले डीपीआर निर्माणको अन्तिम चरणमा पुर्याए पनि डीपीआर पछि रेलमार्ग निर्माण कसले गर्ने भन्ने कुराको टुंगो नलाग्दा कम्पनीले डीपीआरको काममा आलटाल गर्दा योजना नै अन्योलमा धकेलिएको छ ।

 

लगानीको सूनिश्चित्ता नभएकाले चिनियाँ कम्पनीले डीपीआर निर्माणमा आनाकानी गरिरहेको महानगरपालिकाका भौतिक शाखाका प्रमुख राम थापाले बताए ।

 

काठमाडौं उपत्यकामा कलंकीदेखि कोटेश्वर, चाबहिल, महारागञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने गरी सञ्चालन गरिने सम्भाव्य अध्ययनले देखाएको छ । सम्भाव्यता अध्ययनका अनुसार चक्रपथमा गुडाइने सो रेलले दैनिक १ देखि डेढ लाख यात्रुलाई सेवा दिने छ ।

 

फिजिबिलिटीका क्रममै कम्पनीले १ खर्ब हाराहारीमा लगानी लाग्ने अनुमान गरेको थियो । सो लगानी रकम महानगरले आफै गर्न नसक्ने र यो पटक मोनो रेल सञ्चालनका लागि बजेट समेत विनियोजन नभएकाले योजना अन्योलमा परेको उनले बताए ।

 

डीपीआर पछि निर्माणका लागि सोही कम्पनीलाई दिने अथवा अन्य कम्पनीलाई दिने भन्ने विषयमा अझै टुंगो लाग्न नसकेको उनको भनाइ छ । ‘अहिले काम गरिरहेको कम्पनीलाई निर्माण गर्न दियौँ भने कुनै समस्या छैन तर, अन्य कम्पनीलाई दिने हो भने उसले हालसम्म गरेको फिजिबिलिटी र डीपीआरको खर्च हामीले तिर्नु पर्ने हुन्छ,’ प्रमुख थापाले चाणक्य पोष्टसँग भने ।

 

डीपीआर पछि निर्माणका लागि अन्य कम्पनीलाई दिने हो कि भनेर चिनियाँ कम्पनीले त्यो सुनिश्चितता नभएसम्म आनाकानी गरेको उनले बताए ।

 

यस विषयमा कुनै टुंगो नलाग्दासम्म चिनियाँ कम्पनीले आफ्नो लगानी शुनिश्चितता नभएकाले योजनामा थप अन्योलता देखिएको हो । चालू आर्थिक वर्षमा मोनो रेल निर्माण कार्यान्वयनतर्फ जाने नजाने अझै अन्योलमा रहेको छ । यस विषयमा ठोष निर्णयका लागि छलफल भइरहेको थापाले बताए ।

 

नयाँ कम्पनीलाई मोनो रेल निर्माणको ठेक्का दिने हो भने डीपीआर पारित पेस भइसकेपछि त्यसको खरिद प्रकृयाका लागि ९० दिनको टेन्डर आह्वान गरिनेछ । उक्त टेन्डरमा इच्छुकको आवेदन आएपछि त्यसमा उनीहरुको छनोटको प्रकृया २० देखि ३० दिनसम्म लाग्ने छ ।

 

ठेक्का प्रकृयाबाट छनोट भएका ठेकेदार छानिएपछि मात्र सम्झौता हुनेछ । उक्त कार्यहरु सरासर भयो भने करिब १५० दिन लाग्न सक्ने उनले बताए ।

 

यस्तै ठेक्का प्रकृयामा नभई डीपीआर निर्माण गर्न दिएकै कम्पनीलाई दिइने हो भने त्यसका लागि पनि प्रकृया पूरा गर्न १ सय दिनको हाराहारीमा लाग्न सक्ने उनी बताउँछन् । उनका अनुसार प्रायः ठूला योजनाहरु कसलाई दिने भन्ने विषय जटिल हुने भएकाले समय घटबढ हुन सक्ने छ ।

 

काठमाडौं उपत्यकामा कलंकीदेखि कोटेश्वर, चाबहिल, महारागञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने गरी सञ्चालन गरिने सम्भाव्य अध्ययनले देखाएको छ । सम्भाव्यता अध्ययनका अनुसार चक्रपथमा गुडाइने सो रेलले दैनिक १ देखि डेढ लाख यात्रुलाई सेवा दिने छ ।

 

तीन वटा डिब्बासहितको मोनोरेलले प्रतिघण्टा १० हजार यात्रुलाई सेवा दिने अनुमान गरिएको छ । मोनो रेलले १४ वटा स्टेशनबाट यात्रुलाई सेवा दिनेछ ।

मास्क नलगाइ हिँड्नेबाट १ लाख जरिवाना असुल Read Previous

मास्क नलगाइ हिँड्नेबाट १ लाख जरिवाना असुल

सार्वजनिक जग्गाको उपयोग गर्दै कामपा, ८ रोपनीमा पार्क बनाउँदै Read Next

सार्वजनिक जग्गाको उपयोग गर्दै कामपा, ८ रोपनीमा पार्क बनाउँदै