काठमाडौं । काठमाडौं महानगरपालिका–५ मा महानगर र बुद्धपार्क निर्माण प्रक्रिया थालनी गर्ने भएको छ ।
वडा नं ५ मा पहिचान भएको ३६ रोपनी सार्वजनिक जग्गामध्ये साढे ८ रोपनी क्षेत्रमा बुद्ध पार्क र ८ रोपनीमा महानगर पार्क निर्माण प्रक्रिया थालिएको कामपाले जानकारी गराएको छ । महानगर पार्कको प्रारम्भिक ढाँचा तयार भएको छ ।
बुद्धपार्कको लागत अनुमान ४ करोड ५० लाख हो भने महानगर पार्कको लागत ३ करोड २५ लाख रहेको छ । पार्कको ढाँचा कस्तो बनाउने भन्ने विषयमा आज आयोजना भएको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रमअनुरुप नै उद्यान निर्माण गर्न लागिएको जानकारी दिए ।
प्रमुख शाक्यले भने, ‘यसरी उद्यान निर्माण गर्दा सार्वजनिक जग्गाको संरक्षणसँगै हरियाली पनि हुन्छ ।’ उद्यान बालबालिका, युवा र ज्येष्ठ नागरिक, अशक्तको पहुँच हुने, प्राणी जीवजन्तु र वनस्पतिको पनि हुने गरी काम अघि बढ्ने बताइएको छ ।
छलफलमा धारणा राख्दै महानगरको शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले नजिकको बस्ती र महानगरको स्वीकृत मापदण्डबमोजिम काम गर्नसके योजना कार्यान्वयन गर्न सजिलो हुने बताए ।
पार्क डिजाइन गर्दा चराचुङ्गी बस्न सक्ने, माटोभित्रको जीवन सहज हुने, सामाजिक जीवनलाई चलायमान बनाउने, सानातिना आर्थिक गतिविधि चलाउने, कला र संस्कारलाई पहिचान दिने कुरालाई ध्यान दिइने छ ।