काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा २ सय पुल निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ ।
सरकारले गत आवमा कुल ३०० पुल निर्माण गर्ने लक्ष्य राखेको थियो । लकडाउनका कारण समेत नियमित काम गर्न नसक्दा लक्ष्य पूरा हुन नसकेको विभाग अन्तर्गत पुल महाशाखाका प्रमुख दीपक भट्टराईले बताए ।
उनका अनुसार असार मसान्तसम्मको केही तथ्यांक आइनसकेकाले निर्माण सम्पन्न भएका पुलको संख्या थपिन सक्ने छ । हाल १ हजार ५०० भन्दा बढी पुल निर्माणाधीन तथा जीर्ण अवस्थामा रहेको उनले जानकारी दिए । ती मध्ये ८०० बढी पुलहरु निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।
सरकारले गत आवमा ३०० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि आवको अन्त्यसम्ममा २०० वटाको मात्र काम सम्पन्न भएको छ । हाल देशभरमा १ हजार ५०० भन्दा बढी पुल निर्माणाधीन तथा जीर्ण अवस्थामा रहेको छन् । ती मध्ये ८०० बढी पुलहरु निर्माणाधीन र ७०० पुल जीर्ण अवस्थामा छन् ।
यसै क्रममा भारी वर्षा र बाढी पहिरोका कारण समेत केही स्थानमा बनेका पुलमा क्षति पुगेको उनले बताए । ‘बेनी जोमसोङमा एउटा बेली ब्रिज भत्किएको छ, तातो पानी जाने बाटोमा पुल नभत्के पनि बाटो बन्द भएको छ,’ भट्टराईले चाणक्य पोष्टसँग भने ।
यस्तै, हालै संघीय संसदको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले जीर्ण तथा निर्माणाधीन पुलहरुको अवस्था विवरण तयार गरी कार्ययोजना तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
निर्माणाधीन वित्तीय सुनिश्चितता कायम गरी निर्माणलाई गति दिन समितिकी सभापति कल्याणी खड्काले निर्देशन दिएकी हुन् ।कोरोनाका कारण श्रमिक नहुँदा विकासमा समस्या परेको भन्दै सो क्षेत्रहरुमा पदपूर्ति गरी कामलाई गति दिन उनले निर्देशन दिएकी थिइन् ।
ठेकेदारका लापरबाहीका कारण निर्माण अलपत्र परेका रणनीतिक महत्वका दर्जन पुल बनाउन फेरि टेन्डर आह्वान गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेवाङले केही ठेकेदारहरुसँग निर्माण छिटो पूरा गर्न छलफल भइरहेको उनले बताए ।‘निर्माणाधीन ठेकेदारहरुसँग छिटो निर्माण पूरा गर्न छलफल भइरहेको छ, उनीहरुले मानेनन् भने नयाँ ठेक्का आवहान गरिने छ,’ मन्त्री नेङवाले भने ।
समितिले निर्माणाधीन तिनकुने, टेकु, लगायतका पुलको ठेक्का समेत छिटो आह्वान गरी काम गर्न निर्देशन दिएको छ ।काठमाडौंको तिनकुने पुल बनाउन नयाँ ठेक्का लगाउने योजनामा रहेको छ ।
२५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पुप्पसँग आयोजनाले नयाँ ठेक्का पाउन सकेको छैन् । अब सो ठेक्का अन्य निर्माण व्यवसायीलाई दिन प्रकृया सुरु गरिने आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए । उनले तिनकुनेको पुल निर्माणका लागि यो वर्ष ठेक्का प्रकृयामै समय सकिने बताए ।
उनका अनुसार मुद्दापछि पप्पु कन्स्ट्रक्सन र आयोजना बीचको लेनदेनको काम पूरा हुनुपर्ने हुन्छ । पप्पुलाई दिन बाँकी रहेको रकम वा उसको क्षति अनुसारको रकम समेत दिनुपर्ने हुन्छ । जसका लागि मूल्यांकन गर्न बाँकी रहेको देवकोटाले बताए ।
२१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । यसरी विगत लामो समयदेखि अलपत्र परेको तिनकुनेको आर्क ब्रिज अझै १ वर्ष केही प्रकृयाका कारण निर्माण नहुने देखिन्छ ।