तरकारीमा चर्को मूल्यवृद्धि, उपभोक्ता मारमा

धनगढी । पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ ।

 

दुई हप्ताअघिसम्म प्रतिकिलो ८०  रुपैयाँ पर्ने भिन्डी अहिले  १०० रुपैयाँ पुगेको छ भने सिमी  ६० बाट ९० रुपैयाँ पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु  ५५ रुपैयाँ, पुरानो आलु  ३५ रुपैयाँ, प्याज ६० रुपैयाँ, लौका ७० रुपैयाँ, तानेबोडी १४० रुपैयाँ, काउली १२० रुपैयाँ, भेडेखुर्सानी १२० रुपैयाँ, हरियो तरकारी सानो मुठाको  २५ रुपैयाँ, गोलभेँडा  १२० रुपैयाँ, हरियो खुर्सानी १०० रुपैयाँ पुगेको छ ।

सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । “साग तरकारीको मूल्य छोइनसक्नु छ”, स्थानीय  कुलराज बमले भने, “मूल्यवृद्धिले सबैभन्दा बढी मारमा विपन्न वर्ग परेका छन् ।”

 

अरु महीनाको भन्दा वर्षायाममा साग तरकारीको मूल्यवृद्धि हुने गर्दछ । यस वर्षको वर्षामा अचाक्ली ढङ्गले मूल्यवृद्धि भएको अर्का उपभोक्ता केशव जोशीले बताए । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको गुनासो उपभोक्ताको छ ।

“साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन्, भाउ बिचौलियाको नियन्त्रणमा छ”, स्थानीय उपभोक्ता जीवन धामीले भने“मूल्य आकाशिँदासम्म पनि यसको भाउ नियन्त्रण गर्नेतर्फ कसैको चासो देखिँदैन ।”

 

फुट्कीको मूल्य चर्को

 

यतिबेला कैलाली, कञ्चनपुरका तरकारी बजारमा कारोवार भइरहेको ‘फुट्की’को मूल्य सुन्दा पत्यार नलाग्न सक्छ । बजारमा फुट्की प्रतिकिलो रु ७०० देखि रु ८०० मा कारोवार भएको छ । “असार महीनामा फुट्की प्रतिकिलो रु एक हजारसम्ममा बिक्री भएको देखियो”, स्थानीय रामदिन रानाले भने । , “केही दिनयता भने यसको मूल्य घट्दै गएको छ ।”

 

मूल्य चर्को भए पनि यसको स्वाद लिएका पारखीहरु फुट्की खोज्दै हिँड्ने गरेको देखिन्छन् । उखरमाउलो गर्मी बढेको समयमा जङ्गलको माटोमा डल्लो आकारमा पाउने फुट्की एक प्रकारको च्याउ हो । यो निकै पौष्टिक र स्वादिलो हुने गरेको खान पल्केका पारखीहरुको भनाइ छ ।रासस

प्रभु बैंकको नाफामा छलाङ, कति पुग्यो प्रतिसेयर आम्दानी ? Read Previous

प्रभु बैंकको नाफामा छलाङ, कति पुग्यो प्रतिसेयर आम्दानी ?

अल्काटेलका स्मार्टफोनहरु र फीचर फोनहरु नेपाली बजारमा प्रवेश Read Next

अल्काटेलका स्मार्टफोनहरु र फीचर फोनहरु नेपाली बजारमा प्रवेश