काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजार आज खुलेको ६ मिनेटमै पोजेटिभ सर्किट लागेको थियो । त्यसपछि २० मिनेट कारोबार रोकिएर पुनः खुलेको बजार १ मिनेटकै दोस्रो सर्किट लागेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सेयर बजारमा माग सम्बोधन हुने गरी मौद्रिक नीति ल्याएपछि लगानीकर्ता उत्साहित हुँदा बजार खुल्न साथ सर्किट लागेको हो ।
आज जम्मा ७ मिनेट कारोबार हुँदा बजारमो दोस्रो पोजेटिभ सर्किट लागेको छ । पहिलो सर्किट लागेर बजार खुलेको १ मिनेटमै नेप्से सूचक ५ प्रतिशतभन्दा बढी अर्थात् ७० अंकले बढेर दोस्रो सर्किट लागेको छ । नेप्से परिसूचक १४६४ अंक पुगेको छ ।
दोस्रो सर्किट लागेसँगै नेप्सेले सेयर कारोबार ४० मिनेटका लागि बन्द गरेको छ ।
नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।
त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।