काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजार आज जम्मा ८ मिनेट कारोबार भएर बन्द भएको छ ।
बजार खुलेको ६ मिनेटमै पहिलो पोजेटिभ सर्किट लागेको थियो । त्यसपछि २० मिनेट कारोबार रोकिएर पुनः खुलेको बजार १ मिनेटकै दोस्रो सर्किट लागेर ४० मिनेट बन्द भएको थियो । त्यसपछि पुनः खुलेको बजार १ मिनेटमै ६ प्रतिशतले बढेर बन्द भएको छ ।
नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।
त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।
आज जम्मा ८ मिनेट कारोबार हुँदा बजारमा तेस्रो पोजेटिभ सर्किट लागेको छ । आज सेयर बजार मापक सूचक नेप्से ६ प्रतिशतभन्दा बढी अर्थात् ८४.२६ अंकले बढेर १४७९.०२ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका १११ कम्पनी मध्ये १०९ कम्पनीको सेयर मूल्य बढेको छ । ८ मिनेट कारोबार हुँदा ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबार भएका १० वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक ५४८.६६ अंकले बढेको छ ।
आज डेढ दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुँरास लघुवित्त, नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक लगायत डेढ दर्जन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
किन यसरी उफ्रियो बजार
सेयर बजार बढ्नुको मुख्य कारण शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति हो । लगानीकर्ताले राखेका माग सम्बोधन हुने गरी मौद्रिक नीति आएपछि सेयर बजारमा उछाल आएको हो ।
मौद्रिक नीतिमा सेयर मार्जिन लेन्डिङ सीमा ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्याइएपछि लगानीकर्ता थप उत्साहित हुँदा बजारले तीव्र छलाङ मारेको हो ।
त्यस्तै, मौद्रिक नीतिमार्फत बैंकहरुलाई कुल लाभांशको ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न नपाउने, पूँजीगत लाभकर गणना गर्दा साविक १८० दिनको वेटेज एभरेज लिने गरिएकोमा त्यसलाई घटाएर १२० दिन बनाइएको छ । यस्ता व्यवस्थाले लगानीकर्ताको मनोबल उच्च हुँदा बजार बुम भएको अनुमान गर्न सकिन्छ ।
आज सेयर बेच्ने भन्दा किन्ने मान्छे धेरै देखिएका छन् । कारोबारमा आएक अधिकांश कम्पनीको सेयर किन्नै नपाइने अवस्था थियो । आगामी दिनमा बजार झन बढ्ने अनुमान गरेकाले सेयरबेच्नेभन्दा किन्नेको ओइरो लागेको हो ।