काठमाडौं । कोरोनाका कारण विश्वका अधिकांशदेशहरु नराम्ररी प्रभावित भएसँगै नेपाल भित्रिने रेमिटेन्समा गिरावट आएको छ ।
वैदेशिक रोजगारीका लागि धेरै नेपाली कामदार जाने मलेसियासहित खाडी मुलुकहरुमा मन्दी आएसँगै त्यहाँबाट नेपाल आउने रेमिट्यान्स पनि घटेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको जेठसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको यस अवधिको तुलनामा नेपाल भित्रिने रेमिट्यान्समा करिब २४ अर्बले कमी आएको हो।
राष्ट्र बैंकका अनुसार गत आवको जेठसम्ममा ७ खर्ब ७४ अर्ब ८३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३ प्रतिशतले कमी हो ।
अघिल्लो आवको सोही अवधिमा ७ खर्ब ९८ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो।
कोरोनाका कारण रेमिट्यान्स मात्रै नभई वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि उल्लेख्य कमी आएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो।