मौद्रिक नीति २०७७/७८ : लघुवित्तमा मर्जर र दीर्घकालीन संरचना निर्माणमा केन्द्रित हुने
चाणक्य पोष्ट
प्रकाशित : 9:00 am, शुक्रबार, साउन २, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्न लागेको चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत नेपालको वित्तीय क्षेत्रको संरचनाको आगामी केही वर्षको खाका सार्वजनिक गर्ने अनुमान गरिएको छ । धेरै वित्तीय संस्थाहरु भएको तर, सञ्चालन र भौगोलिक अवस्थितिको हिसाबले कुनै विशिष्टता नभएका कारण अलि भद्रगोल जस्तो अवस्था रहेका कारण यसको बलियो संरचना निर्माणमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लागेको राष्ट्र बैंक स्रोतले बतायो ।

 

विगत केही वर्षयता राष्ट्र बैंक वित्तीय संस्थाहरुको संख्या घटाउन तर्फ लागेको छ । तर, संख्या घटाउन बाहेक नेपालको भविष्यको वित्तीय संरचना कस्तो हुने भन्ने विषयमा राष्ट्र बैंकले सैद्धान्तिक रुपमा आफ्नो धारणा बनाउन नसकिरहेको समयमा अधिकारीले यसतर्फ काम शुरु गर्ने भएका हुन् । यसका लागि गर्भनर अधिकारीले राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग छलफल गरिरहेको राष्ट्र बैंक स्रोतले बतायो ।

 

बैंक मर्जर भनेको कार्ययोजना मात्र भएको र मुख्य विषय वित्तीय संरचनाको सैद्धान्तिक अवधारणा भएको कारण यो मौद्रिक नीतिमा गर्भनर अधिकारी त्यस्तो सैद्धान्तिक अवधारणा निर्माण गर्नमा केन्द्रित रहने स्रोतको दाबी छ ।

 

‘यसपालीको मौद्रिक नीतिले लघुवित्तहरुको मर्जरलाई आफ्नो प्राथमिकतामा राखेको छ । मर्जरमा जाने लघुवित्तहरुलाई विशेष सहुलियत दिइने छ’, स्रोतले भन्यो, ‘बैंकहरुलाई भने केही प्रोत्साहनका साथ मार्जरको लागि आग्रह मात्र गरिने योजना छ ।’

 

बैंक मर्जर भनेको कार्ययोजना मात्र भएको र मुख्य विषय वित्तीय संरचनाको सैद्धान्तिक अवधारणा भएको कारण यो मौद्रिक नीतिमा गर्भनर अधिकारी त्यस्तो सैद्धान्तिक अवधारणा निर्माण गर्नमा केन्द्रित रहने स्रोतको दाबी छ । ‘बिना योजना बलजफ्ती मर्ज गराएर मात्र संस्था बलियो हुँदैन भन्नेमा गर्भनर प्रष्ट हुनुहुन्छ,’ स्रोतले भन्यो ।

 

नेपालमा हाल २७ वाणिज्य बैंकका अलावा विभिन्न तहका विकास बैंक र वित्त कम्पनीहरु समेत छन् । तर, यिनीहरुको काम आधारभूत रुपमा उस्तै छ । त्यसैले यस्ता विभिन्न संस्थाहरुलाई आफ्नो विशेष दख्खल रहेको क्षेत्रमा काम गर्न सक्ने वातावरण निर्माण गर्दै बलियो वित्तीय संरचना निर्माण गर्न राष्ट्र बैंक जुटेको हो ।

 

स्रोतका अनुसार आज सार्वजनिक हुने मौद्रिक नीतिमा कृषि विकास बैंकलाई कृषिमै केन्द्रित भएर प्रभावकारी काम गर्नका लागि कार्यक्रमहरु आउनेछन् भने विभिन्न वाणिज्य बैंकहरुलाई पनि आफ्नो विशिष्ट क्षमता भएको क्षेत्रमा बढी केन्द्रित भएर काम गर्न सक्ने वातावरण मिलाउन मौद्रिक नीति केन्द्रित हुनेछ ।

 

वित्तीय क्षेत्रको दीर्घकालीन संरचनाका अलावा आज सार्वजनिक हुने मौद्रिक नीति कोभिड–१९ का कारणले थला परेका व्यवसाय र व्यवसायीहरुको उत्थानमा पनि केन्द्रित हुने राष्ट्र बैंक स्रोतले बतायो ।

 

सरकारको चालू आर्थिक वर्षको बजेटले कोरोनाको कारण थला परेका व्यवसायहरको समस्या प्रभावकारी रुपले सम्बोधन गर्न नसकेको र अहिले लामो समयसम्म बन्द रहेर व्यवसायहरु सूचारु हुन लागेको अवस्थामा आउन लागेको मौद्रिक नीति प्रति व्यवसायीहरुको धेरै चासो र आशा रहेको छ । बन्द रहेका व्यवसायहरु सुचारु गर्नका लागि वित्तीय स्रोत जुटाउन, सहुलियत दरमा ऋण लिन इत्यादीका लागि व्यवसायीहरु मौद्रिक नीति कुरेर बसेका छन् ।

 

‘अप्ठ्यारोमा परेका क्षेत्रहरुको समस्या धेरैहदसम्म सम्बोधन गर्नेगरि नै मौद्रिक नीति आउँछ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

Advertisement Section