उपत्यका सडक विस्तार : कतै स्थानीयको अवरोध कतै ठेकेदारको बेइमानी, यस्तो छ ९ सडकको अवस्था

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार अन्तर्गतका आयोजनाहरुको गत आर्थिक वर्षमा बाँकी रहेको काम चालू आर्थिक वर्ष ( २०७७/७८) सम्पन्न गरिने भएको छ ।

 

उपत्यका सडक विस्तारका आयोजनाका केही सडक खण्डमा स्थानीयको अवरोध त केही खण्डमा ठेकेदारको लापारबाहीका कारण आयोजनाका काम अधुरै रहेका छन् ।  उपत्यका सडक विस्तारका आयोजना अन्तर्गतका ९ सडक आयोजना मध्ये गत आवमा ३ आयोजना काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि त्यो पूरा हुन सकेन ।

 

लकडाउनका कारण ठेकदारहरुले सडकमा काम गर्न नपाउँदा चाबहिल-साखु, त्रिपुरेश्वर-नागढुंगा र लगनखेल सातदोबाटो सडकखण्ड विस्तारको काम तोकिएको समयमा सम्पन्न हुन नसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए ।

 

उपत्यका सडक विस्तारका आयोजनाका केही सडक खण्डमा स्थानीयको अवरोध त केही खण्डमा ठेकेदारको लापारबाहीका कारण आयोजनाका काम अधुरै रहेका छन् ।  उपत्यका सडक विस्तारका आयोजना अन्तर्गतका ९ सडक आयोजना मध्ये गत आवमा ३ आयोजना काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि त्यो पूरा हुन सकेन ।

 

उनले अब चालू आर्थिक वर्षमा सबै सडक विस्तारका कामहरु यथास्थितिमै पूरा गरिने बताएका छन् । ‘सकेको ठाउँमा विस्तार गरेरै जाने छौँ, नसके अब झगडा र छलफलमा समय नबिताउने,’ देवकोटाले भने ‘अब को लड्ने, कति लड्ने, जति गर्यो समय लम्बिँदै जाने मात्र हो, त्यसैले प्राय सबै सडक यथास्थितिमै गरेर भए पनि पूरा गर्ने हो ।’

 

गत आर्थिक वर्षमा उपत्यका सडक विस्तार आयेजनाका लागि १ अर्ब ६८ करोड बजेट विनियोजन गरिएकोमा १ अर्ब हाराहारीमा मात्र खर्च भएको उनले जानकारी दिए ।

 

यस्तो छ उपत्यका सडक विस्तारका ९ आयोजनाको अवस्था

 

चाबहिल-साँखु सडक

 

सडक विस्तारमा क्रममा निकै चर्चामा आएको चाबहिल–साँखु सडकखण्ड आर्थिक वर्ष २०७६÷७७ को अन्तिमसम्ममा सम्पन्न हुने भनिए पनि त्यसो हुन सकेन । उक्त सडकखण्डको साढे ७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । झण्डै ५ किलोमिटरको हाराहारीमा सडक कालोपत्र गर्न बाँकी रहेको छ ।

चैत ११ गतेबाट लकडाउन सुरु भएसँगै सो खण्डको काम ठप्प रहेको थियो । चाबहिल–साँखु सडक खण्ड निर्माण २०७१/७२ सालबाट सुरु भएको हो । सो सडकखण्ड अन्तर्गत लामा/समान्तार जेभीले ठेक्का लिएको १ किलोमिटर सडक मात्र निर्माण सम्पन्न भएको छ ।

 

त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक

 

यो सडक विस्तार अन्तर्गत सरफेस निर्माण सकिसकेको आयोजनाले जनाएको छ । देवकोटाले यस सडकमा फिनिसिङको मात्र काम बाँकी रहेको बताए । कालोपत्र गर्ने काम सम्पन्न भइसके पनि फुटपाथ, पेन्टिङ, सडक जेब्राक्रसिङ लगायतका पूर्वाधार बनाउन बाँकी रहेको थियो । सो काम एक/डेढ महिनामै सकिने भए पनि लकडाउनका कारण रोकिएको देवकोटाले बताए ।

 

११ किलोमिटर लम्बाई रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गर्न लागिएको हो ।

 

लगनखेल-सातदोबाटो सडक

 

यो सडक कुल ८ सय मिटर लम्बाईको रहेको छ । सो सडक निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । घर भत्काउन नदिएपछि रोकिएको सडक विस्तार अब यथास्थितिमा बन्ने भएको हो । उक्त सडक निर्माणको काम अबको १ महिनाभित्र सम्पन्न हुने बताइए पनि लकडाउनका कारण प्रभावित हुन गएको हो ।

 

सो खण्डमा भत्काउनु पर्ने अवस्थामा रहेका ५५ घर मध्ये १२ घर भत्काउन स्थानियले अवरोध गरेपछि यथास्थितिमा सडक निर्माण हुने भएको हो ।

 

यी ३ वटा सडकखण्डको निर्माण गत आर्थिक वर्षको अन्तिमसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । लकडाउनका कारण त्यो लक्ष्य अनुसार पूरा हुन सकेन । अब यी आयोजनाहरु चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य काठमाडौं उपत्यका सडक विस्तार योजनाले जनाएको छ ।

 

जोरपाटी-सुन्दीजल सडक

 

७ किलोमिटर लम्बाई यो सडक निर्माण चालू आर्थिक वर्षमा पूरा हुने जनाइएको छ । सो खण्डमा ९ सय घर भत्काउनु पर्नेमा एउटै घर भत्काउन सकिएको छैन भने हाल भएकै स्थितिमा निर्माण गरिने भएको छ ।

 

इमाडोल-लामाटार सडक

 

८ किलोमिटर लम्बाई रहेको सो सडक आगामी वर्ष भित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । सो सडकखण्ड २०७७÷७८ भित्र सक्ने लक्ष्य रहेको छ ।

 

उक्त खण्डमा ५६ वटा घर भत्काउनु पर्नेमा १० वटा मात्र घर भत्काइएको छ । अन्य बाँकी रहेका घर नभत्काई यथास्थितिमै सडक विस्तार अघि बढाइने योजनाले जनाएको छ ।

 

ढोलाहिटी-सरस्वतीकुण्ड सडक

 

१२ किलोमिटर लम्बाई सो सडकखण्ड विस्तार चालू आर्थिक वर्षसम्ममा सम्पन्न गरिने भएको छ । उक्त सडकखण्ड विस्तारका क्रममा १ हजार १२० घर भत्काउनु पर्ने भएको थियो ।

 

स्थानीयको विरोध र सर्वोच्च अदालतले दिएको स्टेअडरपछि यथास्थितिमा सडक निर्माण अघि बढाइन लागेको हो । यो सडक निर्माण पूरा हुन १ वर्ष लाग्ने अनुमान गरिएको छ ।

 

कर्मनाशा खोला-गोदावरीकुण्ड सडक

 

साढे ७ किलोमिटर लम्बाई रहेको यो सडकखण्ड चालू आर्थिक वर्ष भित्र पूरा हुने भएको छ । यस सडकखण्डमा हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यो सडक आगामी १ वर्षमा पूरा गर्न नसके छोड्नुपर्ने अवस्था सृजना हुने देवकोटाले बताए । सो खण्डमा ४ सय घर भत्काउनु पर्नेमा एउटै पनि घर भत्काउन सकिएको छैन ।

 

नख्खुखोला-भैँसेपाटी सडक

 

झण्डै ५ किलोमिटर लम्बाई रहेको सो सडकखण्ड निर्माण अबको १ वर्षमा सम्पन्न हुने भएको छ । हाल ६० प्रतिशत काम सम्पन्न भइसकेको सो सडक निर्माणका क्रममा १५२ घर भत्काउनु पर्नेमा २५ वटा मात्र घर भत्काइएको छ । अन्य घर नभत्काई सोही अवस्थामा सडक विस्तार गरिने जनाइएको छ ।

 

पेप्सीकोला-सल्लाघारी सडक

साढे ४ किलोमिटर सो सडकखण्ड निर्माण पूरा हुन १ वर्ष लाग्ने भएको छ । सो खण्डमा ४०० घर भत्काउनु पर्ने भएकोमा एउटै घर नभत्काई सडक विस्तार अघि बढाइने भएको छ ।

यसरी काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गत आवमा सम्पन्न गर्ने भनेको काम सम्पन्न हुन सकेका छैनन् । सो कामहरु अब नयाँ चार्थिक वर्षमा पूरा गर्ने आयोजनाले जनाएको छ ।

 

उपत्यका विस्तारमा कुल ९ वटा आयोजनाहरु रहेका छन् । जस मध्ये ३ वटा गत आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । अन्य ६ वटा आयोजना आर्थिक वर्ष २०७७/७८ मा पूरा गर्ने लक्ष्य रहेको थियो । अब यी सबै आयोजनाहरु एकै पटक सम्पन्न गर्ने आयोजनाको दाबी छ ।

सेयर बजारमा उछाल : अर्ब बढीको कारोबार, बैंकिङ समूहको दबदबा Read Previous

सेयर बजारमा उछाल : अर्ब बढीको कारोबार, बैंकिङ समूहको दबदबा

अब आमाबुवा स्याहार्नेलाई ५० हजार पुरस्कार ! Read Next

अब आमाबुवा स्याहार्नेलाई ५० हजार पुरस्कार !