कैलालीको बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था गर्न लागेको हो ।
समितिका अध्यक्ष मोहनबहादुर रावलले आमाबुवाको स्याहार तथा हेरचाह गर्ने सन्तानलाई सम्मान तथा पुरस्कारका लागि आफ्नो व्यक्तिगत रकमबाट ५ लाखको अक्षयकोष स्थापना गरेका छन् ।
‘आमाबुवाको राम्रो स्याहार गर्ने सन्तानलाई प्रेरणा दिन यस पुरस्कार स्थापना गरिएको हो । कोषको ब्याजबाट आउने ५० हजार पुरस्कार दिइनेछ,’ उनले भने, ‘जेष्ठ नागरिकको सम्मान, स्याहार भएन । सन्तान जिम्मेवार नबन्दा धेरैले दुःख पाएका छन् । आमाबुवाप्रतिको जिम्मेवारी बोध गराउन पुरस्कार दिने व्यवस्था गरेका हौँ ।’
वृद्ध सेवा समितिले यसबाहेक ज्येष्ठ नागरिकको हकहित तथा सेवामा समर्पित संस्था वा नागरिक र ज्येष्ठ नागरिकका हितमा कलम चलाउने पत्रकारलाई समेत वर्षेनी पुरस्कारको व्यवस्था गरेको छ । समितिले १०/१० हजार पुरस्कारको व्यवस्था गरेको अध्यक्ष रावलले जानकारी दिए ।रासस