काठमाडौं । सरकारले गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका विकास निर्माण आयोजनाको ठेक्का अवधि ६ महिना थप गरेको छ ।
अघिल्लो आवमा कोभिड १९ का बीचमा परेर काम सम्पन्न गर्न नपाएकाहरुलाई ६ महिना थप समय अवधि थपिएको अर्थमन्त्री यूवराज खतिवडाले जानकारी दिए ।
उनले चालू आवको बजेट कार्यान्वयन गर्दा अघिल्लो वर्षको बजेटको दायित्व पूरा गर्न समेत निर्देशन दिएका छन् । लामो समयदेखि विभिन्न बाहानामा ठेक्का पूरा नगरेका निर्माण कम्पनीले चालू आवमा पनि सम्पन्न गर्न नसके कडा कारबाही गरिने उनले चेतावनी दिए ।
‘कोभिड १९ का कारण ठेक्का सम्पन्न गर्न नसकेकालाई ६ महिना थप समय अवधि थपेको छु, चालू आवमा पनि लामो समयदेखि पूरा हुन बाँकी रहेका ठेक्का बान्की रहे कडाँ भएर उपस्थित हुनुपर्नेछ,’ अर्थमन्त्री खतिवडाले भने ।
गत आवमा विनियोजित बजेट मध्ये १५ देखि १६ अर्ब बचत भएको भन्दै उनले यसको सदुपयोग अतिआवश्यक कार्यमा मात्र गर्नु पर्ने बताए ।
उनले चालू आर्थिक वर्षमा बजेट कार्यान्वयनका विषयमा समेत ठूला खर्च गर्ने मन्त्रालयसँग छलफल भइरहेको बताए । सबै मन्त्रालयले अघिल्ला वर्ष गर्नुपर्ने खर्च र कार्यन्वयनलाई चालू आवमा पूरा गर्न साउन महिना भित्र कार्यविधि बनाइसक्नु पर्ने बताए ।
उनले लकडाउन खुकुलो भएपछि राजश्व संकलनले गति लिएको भन्दै केही हदसम्म विगतको खर्चमा सुधार आएको बताए । तर, पनि निर्माण स्थलमा कामदार र निर्माण समग्री उपलब्ध नहुँदा केही आयोजना अघि बढ्न नसकेको उनले बताए । उनले यो पटक मूल्य वृद्धिको चाप ५ प्रतिशत भन्दा तल झरेको बताए ।
अघिल्लो वर्ष राजश्व संकलन ८२७ अर्ब रुपैयाँ अनुमान गरेकोमा ८४० अर्ब उठेको उनले जानकारी दिए । उनले ७१ प्रतिशत राजश्व उठेको बताए । ४ महिना लकडाउनले आर्थिक क्षेत्रलाई प्रभावित पारे पनि असारमा खुकुलो भएको लकडाउनले यसलाई राहत मिलेको बताए ।
गत आवको बजेट खर्च स्थानीय तह र प्रदेशको केहीको १० प्रतिशत देखि ४० प्रतिशतको हाराहारीमा भए पनि केहीको ८० प्रतिशत सम्म बजेट खर्च भएको उनले बताए । केही स्थानीयले नगरसभा, बजेट पेस लगायतका कामहरु गर्न बाँकी भएकाले यो समेत छिटो सम्पन्न गर्न उनले अनुरोध गरेका छन् ।