काठमाडौं । सीजी सिमेन्ट इन्डष्ट्रिज प्रालिको क्षमता विस्तारका लागि सानिमा बैंकको अगुवाइमा १० बैंकले थप सवा २ अर्ब ऋण लगानी गर्ने भएका छन् ।
सिमेन्ट प्लाण्टको क्षमता दैनिक १९५० मेट्रिकटनबाट २९५० मेट्रिकटन बनाउनका लागि बैंकहरुले थप २ अर्ब ३७ करोड ८० लाख ऋण लगानी गर्ने भएका हुन् ।योसँगै उद्योगमा बैंकहरुको लगानी कुल ९ अर्ब ६ करोड ३० लाख पुगेको छ ।
सिमेन्ट कम्पनीको क्लिंकराइजेशन प्लाण्टको क्षमता विस्तारका लागि सानिमा बैंकको अगुवाइमा तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा ग्लोबल आईएमई, कुमारी, सनराइज, प्रभु, नेपाल, सेञ्चुरी, नेपाल क्रेडिट एण्ड कमर्स र नेपाल एसबिआई बैंकले थप ऋण लगानी गर्ने भएका हुन् ।
ऋण लगानी सम्बन्धी २०७४ पौष ७ मा भएको सहवित्तीयकरण सम्झौतामा मंगलबार (असार ३० गते) पूरक सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा अगुवा बैंक सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, इन्फ्राइस्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरे ।