काठमाडौं । अबको एक सातामा ४२ वटा चार्टर्ड उडान हुने भएका छन् । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान अन्तर्गत ४२ वटा चार्टर्ड उडान हुने भएका हुन् ।
नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन् ।
एकहप्तामा हुने ४२ चार्टर्ड उडानमध्ये नेपाल एयरलाइन्सले मात्रै २४ उडान गर्ने भएको छ भने हिमालयको १५ उडान तालिका रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरु गरेका छन् ।
उडान तालिकाअनुसार आज नेपाल एयरलाइन्सले दुबईमा दुई उडान गर्नेछ । हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ । उद्धार उडानका लागि नेपाली एयरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ । यो अवधिमा एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् ।
यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक १६ वटासम्म चार्टर्ड उडान हुँदै आएका छन् ।