चेतनालाई गिज्याउने विकास : २ जना हिँड्न नमिल्ने फूटपाथमा पनि बाटो छेक्न लाखौं खर्चेर बिरुवा रोपियो

काठमाडौं । नेपालमा विकासका नाममा गरिने साना-ठूला भौतिक पूर्वाधारका कामहरुमा सामान्य मानिसका चासो, सहभागिता, भूमिका इत्यादिलाई लत्याउँदै राज्यका विभिन्न निकायहरुले आफ्ना विभिन्न खाले स्वार्थहरु पूरा गर्ने मेलोको रुपमा लिनु अब अनौठो कुरा रहेन ।

 

विकासका कतियप कामहरु आम मानिसहरुका लागि पटक्कै उपयोगी नभएका धेरै नै उदाहरणहरु भेटिन्छन् । काठमाडौंको मुटुमा भेटिएको त्यस्तै एउटा उदाहरणले अहिले फेरि नेपाल राज्यका विभिन्न निकायहरुको विकास चेतनालाई गिज्याइरेहको छ ।

 

नेपाल सडक मापदण्ड २०७० अनुसार एक मिटर भन्दा कम चौडाइको फूटपाथ बनाउन मिल्दैन । तर, मापदण्ड निर्धारण गर्ने सडक विभागले नै बनाएको सडकमा कतै फूटपाथ नै छैन भने कतै एकजना पनि सहजरूपमा हिँड्न नमिल्ने छ ।

 

उपत्यका भित्र अहिले विभिन्न सडकका फुटपाथहरुमा ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत वृक्षारोपण सुरु गरिएको छ । २ जना मान्छे समेत सहजै हिँड्न नसक्ने फूटपाथहरुका बीचमा वृक्षारोपन गरिँदा पैदलयात्रुहरु सडकबाट हिँड्न बाध्य भएका छन् । त्यस्तो फुटपाथमा अपाङग–अशक्त व्यक्ति हिँड्न सक्ने कुनै सम्भावना छैन । यस विषयमा प्रदेश भौतिक पूर्वाधार मन्त्रालयलाई समेत केही जानकारी नभएको कर्मचारीहरु बताउँछन् ।

हामीले गत वर्ष चाणक्य पोष्टमा ‘फूटपाथको फराकिलोपनाले लोकतन्त्रको गहिराई परिभाषित गर्छ’ शीर्षकको ‘स्टोरी’ प्रकाशित गरेका थियौं । वास्तवमा समाजमा लोकतन्त्रको अवस्थाका बारेमा जान्न र बुझ्नका लागि समाजशास्त्र, राजनीतिशास्त्र वा मानवशास्त्रका ठेलीहरु पढिराख्नै पर्दैन । समाजमा यत्रतत्र देखिने विभिन्न अवयवहरुले मुलुकको लोकतन्त्रको अवस्था उजागर गरिरहेका हुन्छन् ।

 

विशेषगरी फूटपाथ सर्वसाधारणले नै अधिकांश प्रयोग गर्ने हुन् । नेता, साहु महाजन लगायत गाडीमै हुँइकिन्छन् । त्यसैले तमाम सर्वसाधारणले प्रयोग गर्ने यस्ता साँघुरो फुटपाथमा फेरि योजना र मापदण्डविहीन वृक्षारोपन गरेर नेपाल राज्य र उसका निकायहरु सर्वसाधारण जनताको आवश्यकता र उनीहरुको चासोका पक्षमा ठ्याम्मै छैनन् भन्ने एकपटक फेरि चरितार्थ भएको छ ।

 

काठमाडौंमा प्राय बन्ने गरेका ५/६ फुटे फुटपाथमा अहिले रोपिएका बिरुवाको ‘फ्रेमले’ १ फिट त्यसै ओगटेको छ । बाँकी रहेको बाटोमा २ जनामानिस हिँड्न पनि पुग्दैन । एक जना सडकमा र अर्को माथि फूटपाथमा हिँड्नुपर्ने अवस्था रहेको छ ।

 

उपत्यकामा काठमाडौं महानगरपालिका अन्तर्गत रहेर संघ प्रदेश क्षेत्र विकास कार्यालयले यो काम गरिरहेको छ । विकास कार्यालयका प्रमुख भैरव बोगटीका अनुसार कति फराकिलो फूटपाथ भएको ठाउँमा विरुवा रोप्ने कुनै मापदण्ड नभएकाले निर्देशन आएका ठाउँहरुमा विरुवा रोपिएको हो ।

 

उनले हालसम्म लाजिम्पाट, भाटभटेनी, गैरीधारा, विशालनगर लगायतका क्षेत्रमा वृक्षारोपण गरिएको बताए ।‘हामीले ठूलो फूटपाथ भएकोमा मात्र बोटबिरुवा रोपौं भनेको हो, तर संघ प्रदेशका माननियहरुबाट निर्देशन आएपछि जता भने पनि रोप्नै पर्यो,’ बोगटीले चाणक्य पोष्टसँग भने ।

चालू आर्थिक वर्षमा यसरी वृक्षारोपन गर्नका लागि ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेटको ३३ प्रतिशत खर्च भइसकेको छ भने बाँकी बिल आउन बाँकी रहेको उनले बताए ।यो आवमा १ हजार बिरुवा रोपिएको उनले जानकारी दिए । यस कामका लागि उपभोक्ता समितिलाई ठेक्का दिइएको छ ।

 

नेपाल सडक मापदण्ड २०७० अनुसार एक मिटर भन्दा कम चौडाइको फूटपाथ बनाउन मिल्दैन । तर, मापदण्ड निर्धारण गर्ने सडक विभागले नै बनाएको सडकमा कतै फूटपाथ नै छैन भने कतै एकजना पनि सहजरूपमा हिँड्न नमिल्ने छ । सडक विभाग र स्थानीय तहले उपत्यकाका सडकमा मापदण्ड विपरीत फूटपाथ बनाउने गरेको पाइएको छ ।

 

सडकमा सर्वसाधारणको चापको आधारमा फुटपाथ बनाउनुपर्ने हुन्छ । मापदण्ड अनुसार ‘पीकआवर’मा १५ मिनेटभित्र पाँच सयजना आवतजावत गर्ने सडकमा डेढ मिटरको फुटपाथ बनाउनुपर्छ । पैदल यात्रुको संख्यालाई आधार बनाएर फुटपाथको चौडाइ तय गरिएको छ ।

सुन्दर यातायातले पनि चलायो बस, पुरानै भाडा लिने Read Previous

सुन्दर यातायातले पनि चलायो बस, पुरानै भाडा लिने

डुइङ गुड इन्डेक्स २०२० : नेपाल एशियामै कमजोर देशको समूहमा, यस्तो छ अवस्था Read Next

डुइङ गुड इन्डेक्स २०२० : नेपाल एशियामै कमजोर देशको समूहमा, यस्तो छ अवस्था