सन् १९८९ मा चर्चित अमेरिकी दार्शनिक नोम चोम्स्कीले राजनीतिज्ञहरुले जनतालाई मूल मुद्दाबाट विमुख गराउँदै कसरी भ्रम र जटिलता तर्फ उनीहरुलाई धकेल्छन्, जसले असली लोकतन्त्रको कार्यान्वयनमा ब्यवधान ल्याउँछ, भन्ने विषयकाे ब्याख्या गर्न ‘आवश्यक भ्रमहरु (?)’ (नेसेसरी इलुजन्स) भन्ने शब्दावलीको विकास गरेका थिए ।
अहिलेको विश्वमा पनि जनतालाई साँचो र आधारभूत पूर्वाधारको – विशेष गरि सहरी यातायात– आवश्यकताबाट अल्मल्याउन त्यस्तै ‘आवश्यक भ्रमहरु’को खेती हुने गरेको छ ।
सहरहरुमा देखिने आकर्षक फ्लाइओभरहहरु, उच्च कोरिडोरहरु, मेट्रो रेलहरु र १२–१६ लेनका बाटोहरु राजनीतिक रुपमा प्रभावित कर्मचारीतन्त्र र धरातलिय यर्थाथ भन्दा माथी उडी हिँड्ने ‘टेक्नोक्रयाट’हरुकै पूर्वाग्रहको उपज हो ।
यस्ता यातायातका पूर्वाधारहरु द्धारा निकालिने समाधानले त्यस्तै ‘आवश्यक भ्रमहरु ’को पूर्ती गर्छ, अर्थात असली समाधान नचाहने राजनीतिक प्रोपागाण्डाको ।
प्रायजसो अवस्थामा प्रबिधिहरुको छनौट ती प्रविधिहरुसँग कुनै साइनो नभएका राजनीतिज्ञ र कर्मचारीहरुले छनौट गर्छन्, जो सँग त्यस सम्बन्धी कुनै ज्ञान हुँदैन । अनी, विज्ञहरुलाई जसरी पनि त्यस्ता प्रविधिलाई सहरमा प्रयोगमा ल्याउन दवाब दिइन्छ ।
अमृतशर सहरका लागि बनाइएको ‘पर्सनल र्यापिड ट्रान्जिट सिस्टम’ त्यस्तै एउटा उदाहरण हो । अमृतशरका बस्तीहरुमा साँघुरो र मानिसहरुको बसोबास भइरहेको गल्लीहरु बन्द गर्ने योजना थियो, ‘पर्सनल र्यापिड ट्रान्जिट सिस्टम’ चलाउनका लागि ।

तर, मानिसहरुले आफ्नो जीविका मास्ने र सहरको साँस्कृतिक सौन्दर्य मास्ने यो अत्याचारको विरोध गरेपछि भने यो योजना कार्यान्वयनमा आउन सकेको छैन । त्यसैले ‘गोल्डेन टेम्पल’ वरिपरीको सम्पदाको रुपमा रहेका बाटोहरु त्यहाँका जनताको लोकतान्त्रीक ‘स्पिरिट’को द्योतकको रुपमा रहेका छन् नकी कुनै राजनीतिक दल वा राजनीतिज्ञको ।
सडक कुनै पनि मुलुकको पहिलो पूर्वाधार हुन्छ । अर्थतन्त्रले त्यसैका आधारमा गति लिने हो । सहरी सडकको हकमा भने विकासका नाममा बनाइने धेरै सडक पूर्वाधारहरु त्यही ‘आवश्यक भ्रमहरु’ हुन् । यस्ता क्रियाकलाप गरेर हामीले देशमा सम्पत्ति भन्दा धेरै दायित्व कमाएका छौं ।
२० करोड कामकाजी भारतीयहरु माझ गरिएको अध्ययनमा आधारित एक तथ्याङकले एक तिहाई भारतीयहरु हिँडेर, १० प्रतिशत साइकलमा, १६ प्रतिशत बसमा र १८ प्रतिशत स्कुटर वा मोटरसाइकलमा काममा जाने गरेको बताएका छन् । धेरै मानिसहरु निजी गाडीभन्दा टेम्पो वा ट्याक्सीमा काममा जाने गरेका छन् ।
कार चढेर काममा जानेहरु निकै नै कम छन् । तर, नीति निर्माण गर्नेहरु कार चढ्ने हुँदा सबै योजनाहरु कार केन्द्रित मोडलमा अभिव्यक्त हुने गरेको छ । यस्ता पूर्वाधारहरु अत्यन्तै ठूला, खर्चिला र सहरी पूर्वाधारको असली माग सम्बोधन नगर्ने खालका हुन्छन् ।
यहाँ जवाफ दिनुपर्ने प्रश्न भनेको यस्ता ठूला सहरी पूर्वाधारले कसको आवस्यकता पूर्ती गर्छन् ?
यीनले केही मानिसहरुको गोजी भर्छन् र भिडलाई पूर्वाधारको असली प्रयोग भन्दा पनि भव्यता देखाएर पलकित तुल्याउँछन् । अनी मिडिया पनि यस्तै भ्रमको खेतीको साक्षी बन्छन् ।
सहरी यातायात रणनीति प्रमुख अमित भट्ट भन्छन्, ‘भारतमा परम्परागत सहरहरुका पूर्वाधार सामान्य मानिसहरुको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका थिए । तर आधुनिक सहरहरुमा उत्तरी अमेरिकी मोडलको प्रयोग गरिएको छ, जसको प्रयोग गर्न गरिबहरुको आर्थिक क्षमताले भ्याउँदैन, अरु ‘आवश्यक भ्रमहरु’ सहर भित्रका फ्लाईओभरहरु हुन् ।
प्राध्यापक दिनेश मोहनले आफ्नो एक लेखमा लेखेका छन्, ‘ अग्ला बाटो र फ्लाइओभरहरुको नकारात्मक सामाजिक र स्वास्थ्य सम्बन्धी असरहरुका बारेमा धेरै अध्ययनहरु भए पनि भारतीय नीति निर्माताहरुले त्यसको खासै वास्ता गर्ने गरेका छैनन् ।
यो चाखलाग्दो कुरा हो की युरोपियन सहरहरुमा यस्ता बाटोहरु बनाउने योजना विगत २० वर्ष देखि नै प्रतिबन्धित छ । तर, भारत र अन्य एसियाली सहरहर यसैमा पैसा खन्याइरहेका छन् । धेरै मानिसहरु यसको जिम्मेवारी ठेकेदार र राजनीतिज्ञहरु बीचको साँठगाँठलाई जिम्मा लगाएर उम्कने गरेका छन् ।

तर, यो न्यायोचित छैन । सहरी योजनाकार र कन्सल्टेन्टहरु पनि यस्ता मुद्दाहरुका सन्दर्भमा आएका आधुनिक वैज्ञानिक प्रमाणहरु प्रति उदासिन छन् । सहरी क्षेत्रमा गरिने आवतजावतको ठूलो हिस्सा छोटो हुन्छ । यसले स्वास्थ्य लाभको लागि दैनिक व्यायामले राम्रो अवसर प्रदान गर्दछ ।
२ किलोमिटर हिँड्नका लागि जम्मा १५ मिनेट लाग्छ । अथवा १५ मिनेटमा ३ देखि ५ किलोमिटर साइकलिङ गर्न सकिन्छ । तर, उच्च स्तरीय साइकिलिङ वा पैदल यात्राले स्वास्थ्य सेवाका लागि गरिने खर्चको व्यापक बचत हुने कुरालाई नजरअन्दाज गर्ने गरिएको छ ।
यसको विपरित, उदाउँदो अर्थव्यवस्थाका धेरै सहरहरूमा साइकल र पैदललाई निरुत्साहित गर्ने यातायात नीतिहरू अपनाउने प्रवृत्ति रहेको छ । यी नीतिहरूले भविष्यमा स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो भार निम्त्याउने सम्भावना छ । शारीरिक निष्क्रियताले भविष्यमा दीर्घरोग निम्त्याउने छ । र, त्सको उपचार गर्न स्वास्थ्य सेवामा ठूलो रकमको लागत खर्च गर्नुपर्ने हुन्छ ।
वायु प्रदूषणको नकारात्मक स्वास्थ्य प्रभाव बारेमा गरिएका अध्ययनहरूले यसको ठूलो प्रभाव तल्लो सामाजिक–आर्थिक समूहमा बढी पर्ने देखाएका छन् । यसका विभिन्न संचयी कारणहरु हुन सक्छन् । व्यक्तिगत ‘एक्सपोजर’ र संवेदनशीलताको असर पनि हुनसक्छ ।
यस समस्याको सरल समाधान भनेको पैदलयात्री मैत्री पूर्वाधार निर्माण गर्नु हो । जसले पैदलयात्राको लागि उत्साहीत गर्दछ । फराकिला फुटपाथ र छेउकोबाटो सबै भन्दा उत्तम हुन् । ‘हामी तपाईंको ख्याल राख्छौं’ भनेर सामान्यजनलाई भन्ने राम्रो र सजिलो उपाय हो यो । फुटपाथले फराकिलोपनाले प्रजातन्त्रको गहिराइ परिभाषित गर्दछ ।
यहाँ अर्को प्रासंगिक कुरा चण्डिगढको मेट्रो पनि हो, जहाँ प्रशासन ३.१४ लाख दैनिक आवतजावतको लागि मेट्रो बनाउन १७ हजार करोड भारु खर्च गर्न उद्दत छ । ३.१४ लाख आवतजावत अनुमानित तथ्याङक हो । यसले चण्डिगढका यात्रुहरुलाई आकर्षित गर्छ वा गर्दैन भनेर भन्न सकिने ठोस आधार छैन ।
त्यसको विपरित, गरिब रिक्साचालकहरु, जसले ४ लाख यात्रुहरुलाई दैनिक आवतजावत गराइरहेका छन्, नीति निर्माताहरुको आँखाकम परेका छैनन् । उच्च लागतमा बनाइने यस्ता परियोजनाले गरिब बाहेक सबैको ब्यक्तिगत एजेण्डा सम्बोधन गर्छ ।
साथै, इन्जिनियरहरु पनि राम्रो, व्यवस्थित र कम खर्चमै चुस्त बनाउन सकिने रिक्सा भन्दा मेट्रो पूर्वाधार बनाउन सहज मान्छन् । हो, ‘प्रजातान्त्रीक’ समाजमा मेट्रोको ‘ग्ल्यामर’ धेरै छ । र, राजनीतिज्ञ र ठेकेदारहरुले भोट र समर्थन प्राप्त गर्न सहज छ । त्यसैका लागि ‘आवश्यक भ्रमहरु’को खेती गरिन्छ ।