काठमाडौं । बैंकिङ क्षेत्रमा अधिक तरलता भएपछि बैंकहरूले ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेका छन् ।
२७ वटै वाणिज्य बैंकका सीईओ सहितको बैंठकले २ वर्षदेखि भद्र सहमतिमा निर्धारण गरिँदै आएको निक्षेप ब्याजदरको सीमा खारेज गरेको हो ।
बैंकरहरुको यो निर्णयसँगै अब बैंकले नै बजारको अवस्था अनुसार ब्याजदर निर्धारण गर्ने भएका छन् । भद्र सहमति खारेज गरेसँगै आगामी साउन १ गतेबाट बैंकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन् ।
कोरोनाका कारण आर्थिक गतिविधि प्रभावित भएकाले कर्जा लगानी नहुँदा लागत घटाउन बैंकहरूले निक्षेपको ब्याजदर घटाउने निष्कर्षमा पुगेका हुन् ।
ब्याजदरको भद्र सहमति खारेज भए पनि मुद्रस्फीतिभन्दा तल जाने गरी मुद्दती निक्षेपको ब्याजदर भने नघटाउने सहमति गरेको छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्ममा औसत मुद्रास्फीति करिब साढे ६ प्रतिशत छ । जसअनुसार अब बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर साढे ६ प्रतिशतसम्म झार्ने सम्भावना छ ।
चैत मसान्तसम्म बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा साढे ९ प्रतिशत तथा संस्थागतमा साढे ८ प्रतिशत र बचतमा साढे ६ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए ।