१ वर्ष नपुग्दै भासियो नारायणगढ-मुग्लिन सडक, मर्मत गर्न बोलपत्र आह्वान तर परेन आवेदन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ ।

 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो । सो सकडखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै भासिएका थियो ।

 

उनले १७ किलोमा तीनदेखि ३.५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको बताए । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । सडक ग्राबेलिङ गरेपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।

 

सो ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो । यसैमा समस्या आएको जनाइएको छ । सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो ।

 

सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६.५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।

 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुईपटक बोलपत्र आह्वान गर्दासमेत कोही पनि नआएको बताए। प्राविधिकरुपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्नसक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ ।

 

ठेक्का नपरेपछि यस वर्षको वर्षात्मा पनि यत्तिकै सडक सञ्चालन गर्नुपर्ने भएको हो । भासिएको क्षेत्र बढेमा वर्षात्को समयमा समस्या आउनसक्ने अनुमान गरिरहेका बेला सो ठाउँमा सडक थप भासिएको हो । यस सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो । सडकमा दैनिक १० हजार सवारीसाधन आवागमन गर्ने गर्दछन् ।

असार ३१ देखि खाडी मुलुकबाट नेपाली ल्याउन ४० चार्टर्ड उडान गरिँदै Read Previous

असार ३१ देखि खाडी मुलुकबाट नेपाली ल्याउन ४० चार्टर्ड उडान गरिँदै

चल्नथाले सार्वजनिक यातायात, चक्रपथमा गुड्न थाले मयुरका बस Read Next

चल्नथाले सार्वजनिक यातायात, चक्रपथमा गुड्न थाले मयुरका बस