काठमाडौं । गतसाता करिब ६५ अंकले बढेको सेयर बजार यो साता पनि बढ्ने संकेत देखाएको छ । साताको पहिलो दिन आइतबार बजारमा हरियाली छाएको छ ।
सेयर बजार मापक सूचक नेप्से ९.०२ अंकले बढेर १३४०.३९ विन्दुमा पुगेको छ । आज १७९ कम्पनीको १ अर्ब ११ करोड १० लाख ९० हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको छ । २६ लाख ७८ हजार ५०७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक १९७.२४ अंकले बढेको छ भने होटल समूह ५३.२२ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको १६ करोड ५ लाख ४१ हजार २८३ रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा नेपाल पुनर्बीमा कम्पनी र एनआइसी एशिया बैंक क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।
आज आधा दर्जन माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सूर्योदय, स्वरोजगार, एनआइसी एशिया, गणपति, मिथिला र वोमि माइक्रोफाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ५.७६ प्रतिशतले घटेको छ ।