लन्डन । कोरोना भाइरस विरुद्धको खोप बेलायतमा आगामी वर्षको सुरुवातसम्म विकास भइसक्ने जनाइएको छ ।
लन्डनस्थित इम्पेरियल कलेजका कोरोना भाइरस विरुद्धको खोप विकासमा लागिरहेको टोलीका प्रमुख प्रोफेसर रोबिन साटोकले सबै कुराहरु सकारात्मक हुँदै गएमा आगामी वर्षको पहिलो ६ महिनामा बेलायतभर खोप उपलब्ध हुनसक्ने बताएका हुन् ।
स्काई न्युजको सोफी रिजसँगको कुराकानीमा उनले १५ स्वयंसेवकलाई अहिलेसम्म खोप लगाइसकेको बताएका छन् । आगामी साता २००-३०० सहभागीहरुलाई उक्त खोप लगाएर परीक्षण गरिने बताएका छन् ।
‘यदि सबै कुरा राम्रो हुँदै गए हामी आगामी वर्षसम्म कोरोनाविरुद्धको खोप उपलब्ध हुने आशा गरेका छौं,’ उनले भने । उक्त खोप खरिदका लागि लगानी गर्न आवश्यक भएकोसमेत उनले बताएका छन् ।
सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप विकासका लागि विश्वभरका वैज्ञानिक जुटिरहेका छन् । यसअघि भारतका वैज्ञानिकहरुले यस वर्षभित्रै कोरोनाविरुद्धको खोप उपलब्ध भइसक्ने बताएका थिए ।
बीबीसी