काठमाडौंका ३० ठाउँमा पार्क बनाउँदै महानगर, यी ठाउँमा बन्दैछन् यस्ता पार्क

"चालू आवमा आधादर्जन पार्क निर्माण सम्पन्न"

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरक्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गरी खुला क्षेत्रमा विकास गर्ने भएको छ ।

 

हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाउँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न आर्थिक वर्ष २०७७/७८ को बजेटमा उल्लेख भएको बताएका छन् ।

 

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न प्रति पार्क २० लाखदेखि ६ करोडसम्मका बजेट विनियोजन गरेको छ । सो रकमले ३० भन्दा बढी पार्क निर्माणको योजना अघि सारिएको हो ।

 

‘हरियाली प्रर्वद्धन गर्ने, सहरको सौन्दर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो,’ शाक्यले भने, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वद्र्धन गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ ।’

 

आर्थिक वर्ष २०७७/७८ को बजेटमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न प्रति पार्क २० लाखदेखि ६ करोडसम्मका बजेट विनियोजन गरेको छ । सो रकमले ३० भन्दा बढी पार्क निर्माणको योजना अघि सारिएको हो ।

 

ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । ‘काठमाडौँ महानगर घना बस्तीले भरिएको शहर हो । त्यसैले महानगरवासीलाई टहलिन र खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाएका हौँ,’ शाक्यले भने, ‘हरियाली बढाउनुका साथै भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौँ अभियानलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ ।’

 

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरेका योजनामा महानगर जेष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, जेष्ठ नागरिक आश्रम, सहिद पार्क, चेसपार्क, महानगर बाजे-बज्यै पार्क, महिला मैत्री पार्कलगायत रहेका छन् ।

 

योजना अनुसार महानगरपालिकाले वडा–१५ मा सहिद पार्क निर्माणका लागि १ करोड, वडा-५ मा नरबुद्ध पार्कका लागि १ करोड ५० लाख, कुलेश्वर आवास क्षेत्र भित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख, वडा–१४ को ज्ञानतिर्थमा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को कुमारी मन्दिर नजिकै र धोवीखोला दोभानको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख विनियोजन गरेको छ ।

त्यसैगरी महानगरपालिकाले वडा–८ को गुहेश्वरीपारी पार्क निर्माण गर्न २० लाख, वडा–७ को कालोपुल र भत्केको पुलको बिचमा आइल्याण्डपार्क निर्माण गर्न ४० लाख, वडा–९ को कुमारी मन्दिर परिसरमा पार्क निर्माण गर्न २५ लाख, वडा–४ मा धुम्बाराही पार्क निर्माणका लागि १ करोड, वडा–४ कै शिवस्थली पार्क निर्माणका लागि लाग्ने ६ करोड मध्ये यस वर्षका लागि १ करोड विनियोजन गरेको छ ।

 

वडा–१४ को खड्का गाउँमा पार्क निर्माणका लागि ३० लाख, बालाजु पार्क विकास तथा स्वमिङपुल पुनःनिर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१७ को धोविचौर परिसरमा निर्माण र गाहिती पुर्ननिर्माणमा ३० लाख, रानीपोखरी क्षेत्र विस्तार कार्यका लागि १ करोड, वडा–३२ को बालकुमारीमा अमरावती पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–३२ कै तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणको लागि डीपीआर प्रतिवेदन तयार पार्न १ करोड विनियोजन गरेको छ ।

 

महानगरले भृकुटीमण्डपमा २१२ रोपनी क्षेत्रफलमा १ लाख १४ हजार वर्गमिटरको पाँचतले अत्याधुनिक मेगाहल निर्माणका लागि डिजाइन तयार पारी काम अगाडि बढाएको छ ।

 

उक्त स्थानमा अहिले अल्पकालीन रुपमा हरियालीसहितको आइल्याण्ड निर्माण गरिएको छ । महानगरपालिकाले आफ्नो ड्रिम प्राजेक्टका रुपमा अघि बढाएको मेगा हलमा पनि ६० प्रतिशत स्थानमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माण गर्ने भनिएको भृकुटी मण्डपमा अहिले करीब २८ प्रतिशत मात्रै खुला स्थान रहेको महानगरपालिकाको सहरी योजना आयोगले जानकारी दिएको छ ।

 

महानगरपालिकाले दिएको जानकारी अनुसार विष्णुमती करिडोरमा पार्क निर्माणका लागि बहुवर्षीय योजना अन्तर्रगत २ करोड, वडा–७ मा मैजुबहाल पार्क निर्माणका लागि ६२ लाख, वडा–३१ मा जेष्ठ नागरिक आश्रम तथा पार्क निर्माणका लागि बहुवर्षीय योजनामा २ करोड, वडा ३२ को कोटेश्वर महादेवस्थानमा सार्वजनिक भवन र पार्क निर्माणका लागि ५० लाख, बागमती मनोहरा दोभानदेखि बालकुमारी पुलहुँदै मनोहरा, हनुमन्ते दोभानसम्म नदी किनारको जग्गा संरक्षण र पार्क निर्माणका लागि २ करोड, कोटेश्वर महादेवस्थानको सिँडी स्तरोन्नति र पार्क निर्माणका लागि ३० लाख विनियोजन गरेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

 

त्यस्तै वडा–३२ को जनमैत्री हरित उद्यान निर्माणका लागि बहुवर्षीय योजना अन्तरर्गत १ करोड, वडा–२५ को महानगर जेष्ठ नागरिक पार्क निर्माणका लागि १ करोड, वडा–११ को थापाथलीमा सडक किनारा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को चेसपार्क स्तरोन्ततिका लागि ३६ लाख, वडा–४ को महानगर बाजे–बज्यै पार्कको बहुवर्षीय योजनाका लागि ३ करोड, वडा नम्बर –३१ को प्रयागमार्ग पार्क निमार्णका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१० मा स्ट्रिटफुड पार्क निर्माणका लागि २५ लाख, वडा–१० को सानो गौचरण पार्क सुधारका लागि १ करोड, वडा नम्बर–३० को मैतिदेवी पार्क निर्माणका लागि ५० लाख, वडा–३१ को जागृति बाल उद्यान निर्माणका लागि ५० लाख, वडा–३२ को पुरानो टाउनप्लानिङ मनोहरा नदी किनारमा पार्क निर्माणका लागि ५० लाख, खुला योग तथा व्यायमशाला निर्माणका लागि ५० लाख, वडा–४ को विशालनगरमा पार्क निर्माण कार्यका लागि ५० लाख विनियोजन गरेको छ ।

 

महादेव खोला, बल्खु, करखुशी, सामाखुशी, विष्णुमति, वागमती नदी किनारको सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रर्वद्धन र नदी नियन्त्रण कार्यका लागि पनि महानगरपालिकाले करीब ७ करोड बजेट विनियोजन गरेको छ । यी स्थानहरुमा पार्क निर्माणका लागि विनियोजन गरेको बजेट नगरसभाबाट पारित भएको छ । केही नगरसभा सदस्यहरुले यी योजनाहरुमा केही रकम थप गर्नुपर्नेलगायतका माग राखेका थिए । मेयर शाक्यले पनि सिलिङमा तलमाथि नपर्ने गरी सकेसम्म नगरसभा सदस्यहरुका माग सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

चालू आवमा आधादर्जन पार्क निर्माण

 

महानगरपालिकाले चालू आर्थिक वर्षमा आधादर्जन पार्क निर्माण सम्पन्न गरेको छ । महानगरले दिएको जानकारी अनुसार चालू आवमा २३ वडामा सहिद धर्मभक्त माथेमा पार्क, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न गरेको छ ।

 

त्यसैगरी वडा ४ मा टुँडालदेवी पार्क, टुसाल पार्क निर्माणको काम समेत सम्पन्न भएको महानगरपालिकाले जनाएको छ ।
यस्तै मदन भण्डारी पार्क, वडा नम्बर–४ मा सुकेधारा कृष्ण गल्ली पार्क, वडा नम्बर–३ मा बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क निर्माणको पनि महानगरपालिकाले पहिलो चरणको काम सम्पन्न गरेको छ ।

 

आर्थिक वर्ष २०७६/७७ मै न्ह्योखा पार्क, शान्ति नमूना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, कुमारी पार्क, रानीबारी पोर्पा अजिमा पार्क, वडा नम्बर–२१ मा लगं पार्क, कमल पोखरी पार्कलगायको निर्माण कार्य सुरु गरिसकेको छ ।

 

यी पार्क निर्माणका लागि करीब ३८ करोड बजेट व्यवस्था गरेको छ । वागमती नगर पार्क करीब ७ करोडमा र लगं पार्क करीब ६ करोडको लगानीमा निर्माण भैरहेका छन् । कमलपोखरी गुरुयोजना अन्तर्गत करीब ७ करोडको लगानीमा निर्माण कार्य सूचारु रहेको महानगरपालिकाले जानकारी दिएको छ ।

बाढीका कारण दर्जनबढी हाइड्रोपावरमा क्षति, ५०० मेगावाट विद्युत् उत्पादन बन्द Read Previous

बाढीका कारण दर्जनबढी हाइड्रोपावरमा क्षति, ५०० मेगावाट विद्युत् उत्पादन बन्द

बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समिति सहमत, झाँक्री उपसमितिले बुझाएको प्रतिवेदन पारित Read Next

बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समिति सहमत, झाँक्री उपसमितिले बुझाएको प्रतिवेदन पारित