बाढीका कारण दर्जनबढी हाइड्रोपावरमा क्षति, ५०० मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न नदीमा आएको बाढीले एक दर्जनभन्दा बढी हाइड्रोपावरमा क्षति पुगेको छ ।

 

बाढीले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वका विभिन्न जलविद्युत् आयोजनामा क्षतिपुग्दा करिब ५०० मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणका अनुसार  बाढीका कारण हाल देशमा उत्पादन हुने कुल बिजुलीको ४० प्रतिशत उत्पादन बन्द भएको छ । बाढीका कारण देशकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’मा शुक्रबार बिहानदेखि उत्पादन बन्द भएको छ ।

 

त्यस्तै, ७० मेगावाटको मध्यमस्र्याङदी, ४५ मेगावाटको माथिल्लो भोटेकोशी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट, ६ मेगावाटको पुवाखोला जलविद्युत् लगायत दर्जन बढी आयोजनामा गरी करिब ५०० मेगावाट बिजुली उत्पादन बन्द भएको छ ।

 

यी आयोजनाहरु मध्ये केही बाढीको वहाव उच्च भएकाले बन्द गरिएको हो भने केहीको पावर हाउसमै क्षति पुगेर बन्द भएका हुन् । बाढीका कारण कुन आयोजनाको कति क्षति भयो भन्ने विवरण नआएपनि अर्बौं क्षति पुगेको अनुमान गरिएको छ ।

 

यस्तै भारी वषाका कारण आएको पहिरोले देशका विभिन्न प्रसारण लाइनमा क्षति पुर्याएको छ । जसका कारण विभिन्न स्थानमा विद्युत् सेवा अबरुद्ध भएको छ ।

 

वर्षाका कारण १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनमा क्षति पूग्दा यसमा जोडिएको १५० मेगावाट विद्युत प्रणालीबाट विच्छेद हुन पुगेको छ ।त्यस्तै, चमेलिया मर्स्याङ्दी करिडोर प्रसारण लाइनमा पनि पहिरोका कारण समस्या आएर बन्द भएको छ ।

 

४० प्रतिशत विद्युत् उत्पादन भएपछि न्यूनतम माग धान्न भारतबाट थप बिजुली आयात गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कटैया, ढल्केबर प्रसारण लाइनबाट थप बिजुली आयात गरी वितरण गरिने विद्युत् आपूर्तिको व्यवस्था गरिने छ ।

बाढीले म्याग्दीमा बेलिब्रिज बगायो, मनाङसँग सडक सञ्जाल विच्छेद Read Previous

बाढीले म्याग्दीमा बेलिब्रिज बगायो, मनाङसँग सडक सञ्जाल विच्छेद

काठमाडौंका ३० ठाउँमा पार्क बनाउँदै महानगर, यी ठाउँमा बन्दैछन् यस्ता पार्क Read Next

काठमाडौंका ३० ठाउँमा पार्क बनाउँदै महानगर, यी ठाउँमा बन्दैछन् यस्ता पार्क