काठमाडौं । आज बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । बुधबार दोहोरो अंकले घटेको बजार आज करिब ५ अंकले बढेको छ भने कारोबार रकममा गिरावट आएको छ ।
सेयर बजार मापक सूचक नेप्से ४.५७ अंकले बढेर १३३१.१० विन्दुमा पुगेको छ । आज १७८ कम्पनीको ९० करोड ८० लाख ८६ हजार १९७ रुपैयाँ बराबरको कारोबार भएको छ । २२ लाख २६ हजार २०३ कित्ता सेयर खरिद-बिक्री भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार र बैंकिङ समूहबाहेक बाँकी सबै समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक ६८.३३ अंकले बढेको भने व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १८.५४ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको १५ करोड १८ लाख ४५ हजार ८३० रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र छिमेक लघुवित्तको विकास बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।
आज तीन लघुवित्त कम्पनीको सेयर मूल्यम पोजेटिभ सर्किट लागेको छ । सूर्योदय लघुवित्त, वोमी माइक्रोफाइनान्स र आजैदेखि कारोबारमा आएको एनआइसी एशिया लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज ग्लोबल आइएमई सम्मुनति स्कीम १ को सेयर मूल्य सबैभन्दा धेरै ३.८५ प्रतिशतले घटेको छ ।