सरकारको निर्देशन विपरित लाइसेन्स नवीकरणमा शतप्रतिशत जरिवाना लिँदै विभाग, भदौसम्म म्याद थप्न प्रस्ताव

काठमाडौं । यातायात व्यवस्था विभागले लकडाउनका कारण रोकिएको लाइसेन्स नवीकरण (रिन्यू) गर्दा भदौसम्म कुनै जरिवाना नलाग्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

 

यसअघि मन्त्रालयले असार मसान्तसम्म नवीकरण गर्दा जरिवाना नलिन निर्देशन दिए पनि अहिले विभागको बिलिङ सिस्टममा कुनै परिवर्तन नभएकाले त्यो कार्यान्वयन हुन सकेको छैन ।

 

मन्त्रालयले जरिवाना नलिन निर्देशन दिए पनि अहिले विभागको अनलाइन प्रणालीबाट बिलिङ हुने भएकाले सेवाग्राहीले शतप्रतिशत जरिवाना तिर्नुपरिरहेको छ । अनलाइन भुक्तानीका क्रममा सिस्टमले भने अन्तिम मिति सकिएको ९० दिन भएका सबैको जरिवाना १०० प्रतिशत बिलिङ गर्ने गरेको छ ।

 

अनलाइन सिस्टमबाट भुक्तानी गर्दा पनि जरिवाना नलाग्ने व्यवस्था मिलाउन अनलाइन सिस्टम नै अपडेट गर्नुपर्ने भएकाले त्यसका लागि समय माग गर्दै विभागले मन्त्रालयलाई भदौसम्म जरिवाना नलिने व्यवस्था मिलाइदिन प्रस्ताव गरेको हो ।

 

सिस्टम अपडेट नहुँदा अझै सवारीधनीले सरकारले दिएको सुविधाको उपभोग गर्न पाएका छैनन् । सिस्टम अपडेट गर्न २० दिन जति लाग्ने यातायात व्यवस्था लाइसेनस नविकरण कार्यालय एकान्तकुनाले जनाएको छ ।

लाइसेन्स नवीकरण कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीका अनुसार विभागले भदौसम्मका लागि कुनै जरिवाना नलिनेगरी व्यवस्था गर्न मन्त्रालयमा प्रस्ताव गरेको छ । उनले सो प्रस्ताव यातायात व्यवस्थापन विभागले मन्त्रालयमा पेश गरेको बताए ।

 

‘हामीले लकडाउन अवधिभरी लाइसेन्स नवीकरण गर्न नपाएकाहरुका लागि भदौसम्म कुनै जरिवाना नलिने व्यवस्था मिलाउन मन्त्रालयमा प्रस्ताव राखेका छौँ,’ कार्कीले चाणक्य पोष्टसँग भने ।

 

उनले हाल नवीकरण गर्न आउने धेरै जसोलाई फिर्ता पठाइएको बताए । बिलिङ फेल भएकाहरुलाई पनि जरिवाना नलिने गरी व्यवस्था मिलाउने गरी मन्त्रालयमा प्रस्ताव भएको उनले बताए ।लाइसन्स ईबिलिङ सिस्टम मद्रास कम्पनीले बनाएको हो । सो कम्पनीले आफै त्यो अपडेट गर्नु पर्ने भएकाले समय लाग्न गएको उनले बताए ।

 

यस्तै विभागले हाल अति आवश्यक परेकाहरुलाई भने मन्जुरी नामानै लेखाएर जरिवानासहित लाइसेन्स नवीकरण गराइरहेको उनले बताए ।

 

उनका अनुसार विदेश जानु पर्ने, उपत्यका बाहिर टाढा जानु पर्ने र फेरि फर्कन नसक्ने, तत्काल नगरी नहुनेहरुलाई यसरी मन्जुरी नामा लेखाएर मात्र १०० प्रतिशत जरिवानासहित नवीकरण गराइएको बताए ।

 

जरिवाना फिर्ताको विषयमा भने हालसम्म कुनै व्यवस्था नभएको उनले बताए । ‘जरिवाना फिर्ता वा अर्को पटक नवीकरण गर्दा मिलाउने व्यवस्था ऐनमा नै छैन, त्यसैले हामीले केही गर्न सक्दैनौँ,’ कार्कीले भने । उनले अर्को पटक नवीकरण गर्दा मिलाउनका लागि समेत ५ वर्षमा मात्र गर्ने भएकाले कुनै सम्भावना नरहेको बताए ।

सुनको भाउ बढेको बढ्यै, तोलाको साढे ९२ हजार नजिक Read Previous

सुनको भाउ बढेको बढ्यै, तोलाको साढे ९२ हजार नजिक

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो Read Next

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो