राजश्व चुहावट गर्ने ६ कम्पनीविरुद्ध मुद्दा दायर, ७७ करोड बिगो दाबी

काठमाडौं । भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध ७७ करोड ४ लाख बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

 

उनीहरुविरुद्ध बिगो असुल गरी सोहीबराबरको जरिवाना र कैद सजायको माग दाबीसहित राजश्व अनुसन्धान विभागले बुधबार उच्च अदालत पाटनमा मुद्दा चलाएको हो ।

 

झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजश्व छली गर्ने न्यूकोइराला ब्रदर्स इन्टरप्राइजेजले १ करोड ७० लाख १९ हजार बिगो कायम गरी उक्त बिगो असुलउपर गरी गराई जरिवाना र कैदको माग दाबीसहित बुधबार मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

 

यस्तै काठमाडौं महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोवार गर्ने समर ट्रेडर्सले पनि राजश्व चुहावट गरेको भेटिएको छ । राजश्व छली गरेको अभियोगमा ४ करोड ५८ लाख बिगो असुलउपर गरी जरिवाना एवं कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको छ ।

 

विदेशबाट मोबाइललगायत इलेक्ट्रोनिक्स सामान चोरीपैठारी गरी राजश्व चुहावट गरेको कसूरमा काठमाडौँको टोखास्थित ग्राण्डी अपार्टमेन्टमा बस्ने मयुर मालाकारसमेत दुई जनाविरुद्ध ४३ करोड १८ लाख बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको मैनालीले बताए ।

 

यस्तै झुठा तथा नक्कली मूल्य अभिवृद्धिकरको बिजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौं महानगरपालिका–४ मा रहेको जिमी ग्रुप प्रालिले राजश्व चुहावट गरेको अभियोगमा १८ करोड बिगो बराबरको राजश्व छलेको पाइएको छ ।

 

ललितपुर महानगरपालिका–३ स्थित न्यूक्रियसन इम्पेक्स प्रालि, बङ्गलामुखी ट्रेड एण्ड सप्लाई र काठमाडौं महानगरपालिका २८ स्थित बिएस ट्रेड इन्टरनेशनलले ९ करोड बिगो बराबरको राजश्व चुहावट गरेको अभियोग छ । उक्त कम्पनीविरुद्ध जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

कोरोना महामारीकै बीच खुले मुम्बईका होटल, यस्तो छ सञ्चालन व्यवस्था Read Previous

कोरोना महामारीकै बीच खुले मुम्बईका होटल, यस्तो छ सञ्चालन व्यवस्था

बाढीले मध्यभोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति Read Next

बाढीले मध्यभोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति