काठमाडौं । यो साता सुरुदेखि निरन्तर उकालो लागेको सेयर बजारमा आज करेक्शन देखिएको छ । सुरुका तीन दिनमा करिब ७० अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्शन देखिएको छ ।
बुधबार सेयर बजार मापक सूचक नेप्से १०.१३ अंकले घटेर १३२६.५३ विन्दुमा आइपुगेको छ । आज १७९ कम्पनीको १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ । २९ लाख ७७ हजार ७०६ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार र सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १५.३१ अंकले बढेको भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६०.२९ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको २५ करोड ५७ लाख ९९ हजार ६८१ रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको प्रमोटर सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।
आज सूर्योदय लघुवित्त कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले घटेको छ ।