सडक डिभिजन कार्यालय काठमाडौंको ४१ करोड बजेट फ्रिज

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौं अन्तर्गत ४१ करोड ८९ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७५/७६ सालमा कुल २ अर्ब ३७ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये १ अर्ब ९५ करोड १९ लाख रुपैयाँ बजेट खर्च भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

 

विभागका शाखा अधिकृत रविन्द्र ढकालका अनुसार आर्थिक वर्ष २०७५/७६ सालमा रणनीतिक सडक पुनस्थापना तथा सुधारमा सबैभन्दा बढी बजेट फ्रिज भएको हो ।

 

रणनीतिक सडक पुनस्थापना तथा सुधारमा कुल ५९ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजीत बजेट मध्ये २६ करोड ५२ लाख रुपैयाँ बजेट खर्च भएको उनले जानकारी दिए । त्यस मध्ये ३३ करोड १३ लाख रुपैयाँ बजेट फ्रिज भएको हो ।

 

रणनीतिक सडक पुनस्थापना तथा सुधारमा बढी बजेट फ्रिज हुनुमा स्थानीयले वर्षको अन्तिममा रकम ल्याइएको उनले बताए । ‘स्थानीयले वर्षको अन्तिममा बजेट ल्याए, त्यसले गर्दा खर्च गर्न सकिएन र फ्रिज भएको देखियो,’ ढकालले चाणक्य पोष्टसँग भने ।

 

यस्तै स्थानीय सडक पुल निर्माण तर्फ ५ करोड ४९ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७५/७६ सालमा स्थानीय सडक पुल निर्माण अन्तर्गत २२ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यस मध्ये १६ करोड ९९ लाख रुपैयाँ बजेट खर्च भएको डिभिजन कार्यालयले जानकारी दिएको छ ।

 

काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत ३ करोड रुपैयाँ बजेट फ्रिज भएको छ । १ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ कुल विनियोजीत बजेट मध्ये १ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ बजेट खर्च भएको हो ।

 

डिभिजन कार्यालय काठमाडौंका अनुसार रणनीतिक सडक पुल निर्माण तथा पुल संरक्षण अन्तर्गत १५ लाख ६५ हजार रुपैयाँ बजेट फ्रिज भएको छ । सो अन्तर्गत आर्थिक वर्ष २०७५/७६ सालका लागि कुल १ करोड १६ लाख रुपैयाँ विनियोजन भएको थियो । उक्त बजेट मध्ये १ करोड रुपैयाँ मात्र खर्च भएको डिभिजन कार्यालयले जनाएको छ ।

 

यस्तै सडक तथा ट्राफिक सुरक्षा अन्तर्गत ४ लाख रुपैयाँ फ्रिज भएको छ । सो सडकमा रोड मार्क लगाउनका लागि कुल ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । उक्त बजेट मध्ये ४५ लाख ९७ हजार रुपैयाँ भने खर्च भएको छ ।

 

यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोष अन्तर्गत पूरै बजेट खर्च भएको डिभिजन कार्यालयले जनाएको छ । डिभिजन कार्यालयका अनुसार १ करोड ५२ लाख रुपैयाँ विनियोजन भएकोमा १ करोड ५१ लाख रुपैयाँ खर्च भएको हो ।

काठमाडौंका ५ सडक पुल चालू आर्थिक वर्षभित्रै बन्ने Read Previous

काठमाडौंका ५ सडक पुल चालू आर्थिक वर्षभित्रै बन्ने

चेम्बर अफ कमर्सद्धारा अर्थमन्त्रीलाई विद्यमान समस्याको बारेमा जानकारी Read Next

चेम्बर अफ कमर्सद्धारा अर्थमन्त्रीलाई विद्यमान समस्याको बारेमा जानकारी