काठमाडौं । ८ वर्ष बन्द रहेर उत्पादन थालेको नेपाल औषधि लिमिटेड अहिले विस्तारै तंग्रिँदै थालेको छ । लिमिटेडले अहिले विभिन्न सात प्रकारका औषधि उत्पादन गरेर बिक्री–वितरण थालेसँगै यसको पुरानो पहिचानलाई पुनः स्थापित गराउन खोज्दैछ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार औषधि बनाउने ठाउँको आचारसंहिताको कारणले आर्थिक वर्ष २०६७/६८ बन्द भएको लिमिटेडका उत्पादन २०७४ सालदेखि पुनः सञ्चालन भएको थियो ।
औषधि व्यवस्था विभागले औषधि उत्पादन गर्ने ठाउँको आचारसंहिता पालना नगरेको भन्दै लिमिडेटले उत्पादन गर्न अनुमति दिएका सबै औषधिको अनुमति पत्र रद्द गरेको थियो ।
लिमिटेडले बन्द हुनुभन्दा अगाडि १२२ प्रकारका ‘जीवन बचाउन अत्यावश्यक औषधि’ उत्पादन गर्दै आइरहेको थियो । पुनः सञ्चालनमा आएपछि हाल ७ प्रकारका औषधि उत्पादन गर्न थालेको छ ।
लिमिटेडका निमित्त महाप्रबन्धक विजय श्रीरत्न वज्राचार्यले आचारसंहिताको मापदण्ड पूरा गरेर पुनः औषधि उत्पादन गर्न थालिएको जानकारी दिए । उनले आचारसंहिताअनुसार जीवन जल युनिट र ट्याबलेट युनिट बनाएर औषधि उत्पादन सुरु गरिएको जानकारी दिए।
उनका अनुसार अहिले सिटामोल, सिटामोल प्लस, जीवनजल (साधारण), जीवनजल (सुन्तला), सानिटाइजर, गिल्सिरिन र डिस्टिल वाटर उत्पादन गर्दै आइरहेको छ । ‘अहिले हामी आचारसंहिता मापदण्ड पालना गरेर सात प्रकारका औषधि उत्पादन गरेका छौँ,’ उनले भने, ‘थप औषधि उत्पादनका लागि विभागसँग प्रस्ताव पेस गरेका छौँ ।’
नयाँ क्याप्सुल र हेमो डाइलोसिस युनिट स्थापना गरी आउने आर्थिक वर्षमा ठोस योजना बनाएर अन्य औषधि उत्पादन गर्ने लिमिटेडको तयारी रहेको छ । विसं २०७४ वैशाखमा जीवनजल र फागुनमा सिटामोल ट्याबलेट उत्पादन सुुरु गरेको हो । बन्द भएपछि अन्य औषधि उत्पादन गर्न नपाएपनि लिमिटेडले डिस्टिल वाटर र गिस्लिरिनमात्र उत्पादन गर्दै आइरहेको थियो ।

काठमाडौंको बबरमहलस्थित नेपाल औषधि लिमिटेडमा स्यानिटाइजर बनाउँदै कर्मचारीहरु ।
विसं २०२९ मा सरकारको पूर्ण स्वामित्वमा सर्वसुलभ र गुणस्तरीय औषधि उत्पादन गर्नका लागि लिमिटेड स्थापना गरिएको थियो । पुरानै मेशिन र संरचनामा उत्पादन गरेपछि विभागले लिमिटेडका औषधिको उत्पादनका लागि नवीकरण गरेको थिएन । लिमिटेडले मात्र औषधि उत्पादन गरेको बेला निजी कम्पनीले भने उत्पादन गरेका थिएनन् ।
विसं २०४० पछि मात्र निजी कम्पनीले औषधि उत्पादन गर्न थालेका हुन् । ‘हामी अहिले उत्पादन गरेका औषधि हाम्रा बिक्रेताका कहाँ पुर्याएका छौँ । उनीहरुबाट पनि हामीले राम्रो प्रतिक्रिया पाएका छौँ,’ उनले भने, ‘हामी अबको पाँच वर्षमा पहिल्यकै अवस्थामा लिमिटेडका औषधि उत्पादन गर्दछौँ ।’ लिमिटेडले बन्द हुनुभन्दा अगाडि १२२ प्रकारका ‘जीवन बचाउन अत्यावश्यक औषधि’ उत्पादन गर्दै आइरहेको थियो ।
उनका अनुसार लिमिटेडले औषधि उत्पादनका लागि सिभर, ग्रान्ड लेटर, ड्रायर, पन्चिङ, फिलिङ स्ट्रपिङ मेशिन ल्याइएको छ । ‘कतिपय औषधि पुराना नचल्ने खालका रहेकाले ती औषधिको उत्पादन हामी गर्दैनौँ,’ उनले भने, ‘नयाँ बजारमा प्रतिस्पर्धा गर्ने खालका औषधि उत्पादनमा जोड दिन्छौँ ।’ त्यतिबेला लिमिटेडले ट्याबलेट, क्याप्सुल, तरल, मल्हम, हेमोडाइलोसिस फ्लुडजस्ता औषधि उत्पादन गर्दै आएको थियो ।
लिमिटेडले अहिले कोभिड–१९ को बेला स्यानिटाइजरको उत्पादन सुरु गरेको छ । लिमिटेडका उत्पादन गरेको स्यानिटाइजर सबै सरकारी कार्यालयले प्रयोग गरिरहेका छन् ।
निमित्त महाप्रबन्धक वज्राचार्यले अन्यले उत्पादन गरेको भन्दा ८० प्रतिशत इथाइन अल्कोहल रहेको स्यानिटाइजर करीब २२ हजार लिटर उत्पादन गरेको बताए। उनले लिमिटेडले उत्पादन गरेको स्यानिटाइजरको प्रयोग बढेपछि आफूहरु उत्साहित भएर अन्य औषधिको उत्पादनलाई पनि चाँडै सुरु गर्ने बताए।
सरकारले औषधिको बजार मूल्य नियन्त्रण गर्न र गुणस्तरीय औषधि उत्पादन गर्नका लागि लिमिटेड स्थापना गरेको हो । औषधिको उत्पादन बन्द भएपछि ७०० को सङ्ख्यामा रहेका कर्मचारी कटौती गरेर ८४ मा झारिएको लिमिटेडका निमित्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिए ।
बबरमहलस्थित ४३ रोपनीमा फैलिएको लिमिटेडलाई औषधि उत्पादनको उद्योगका रुपमा विकास गरी सर्वसाधारणलाई सस्तो र गुणस्तरीय औषधि पुर्याउन आवश्यक देखिएको छ ।