काठमाडौं । करीब ३ बन्द भएर गत सातादेखि खुलेको सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । गतसाता दैनिक सर्किट लागेर पूरै अवधि कारोबार नभई बन्द भएको बजार यो साता निरन्तर उकालो लागेको छ ।
पछिल्लो ७ कारोबारमा बजार सूचक करिब १३५ अंकले उकालो लागिसकेको छ । यसैबीच गतसातादेखि नै कारोबारमा आएको एक कम्पनीको सेयलमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
संस्थागत र सर्वसाधरण गरी १० करोड कित्ता सेयर भएको नेपाल पुनर्बीमा कम्पनीको सेयर किन्नेको आइरो लागेको छ । गत सोमबारबाट कारोबारमा आएको कम्पनीको सेयर किन्ने चाप देखिएको छ ।
पछिल्लो ३ दिनदेखि निरन्तर कम्पनीको सेयर मूलयमा पोजेटिभ सर्किट लाग्दै आएको छ । यस अवधिमा कम्पनीको सेयर मूल्य झन्डै ३० प्रतिशतले बढीसकेको छ । यद्यपि अझै यस कम्पनीको सेयर खरिद कर्ताको चाप घटेको छैन ।
मंगलबार दिउँसो साढे १ बजेसम्ममा कम्पनीको १ लाख १० हजारभन्दा बढी कित्ता सेयरको माग भएको छ । तर १ कित्ता पनि विक्रीमा छैन । सर्वसाधरणको मात्रै १ करोड ६० लाख कित्ता सेयर भए पनि १ कित्ता पनि विक्री नहुनाले कम्पनीप्रति लगानीकर्ताको ठूलो आकर्षण देखिएको बुझिन्छ ।
हाल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक वर्ष १ अर्ब १७ करोड खुद नाफा कमाएको थियो । कम्पनीले जीवन बीमाबाट १९ करोड ११ लाख र निर्जीवन बीमाबाट ९८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रिमियमबाट ५ अर्ब ५२ करोड खुद नाफा गरेको थियो । अघिल्लो वर्ष कम्पनीले प्रिमियमबाट २ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको यो कम्पनीको जगेडा कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ छ भने बीमा कोषमा १ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।