मेलम्चीको मुख्य सुरुङमा पानी हालियो, घरघरमा पुग्न भने अझै समय लाग्ने

काठमाडौं । वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ ।

 

आज (आइतबार) बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो ।

 

हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

 

मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीको भनाइ छ ।

 

पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिने उनले बताए। उनले भने, ‘पानी भरिसकेपछि कुनै चुुहावट नभएपछि मात्रै उपत्यकामा पानी झार्न सकिन्छ, चुहावट भएमा त्यसको मर्मत गरिन्छ ।’

 

सुरुङमा पठाइए पनि पानी काठमाडौं उपत्यकावासीको घरघरमा पुग्न अझै केही समय लाग्ने आयोजनाले बताएको छ । आयोजनाका अनुसार सुरुङको परीक्षणकै लागि केही समय लाग्नेछ ।

 

आयोजना कार्यान्वयन निर्देशनालयले पानी वितरणका लागि आवश्यक पर्ने पानी ट्याङ्की नौ ठाउँमा र पहिलो चरणमा वितरण हुने अधिकांश स्थानमा पाइप जडान गरिसकेको छ । अहिले पाइपको बाग्मती नदीको पानीले परीक्षण भइरहेको छ ।

 

सुख्खा मौसममा दैनिक १७ करोड लिटर भनिए पनि वर्षामा मेलम्चीबाट दैनिक २२ करोड लिटरसम्म पानी आउने आयोजनाको भनाइ छ ।

६३ करोडको आइपीओ निष्काशनका लागि रिलायन्स लाइफले दियो बोर्डमा आवेदन Read Previous

६३ करोडको आइपीओ निष्काशनका लागि रिलायन्स लाइफले दियो बोर्डमा आवेदन

चन्द्रागिरि हिल्सले आइपीओ निष्काशनका लागि नागरिक लगानी कोषसँग गर्‍यो सम्झौता Read Next

चन्द्रागिरि हिल्सले आइपीओ निष्काशनका लागि नागरिक लगानी कोषसँग गर्‍यो सम्झौता