काठमाडौं । कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावको गहिराइ र सघनता नाप्ने विभिन्न सूचकहरु हुन्छन् । आर्थिक वृद्धिदर, बैंकमा ऋणको माग, राजश्व संकलन, तरलताको अवस्था इत्यादि तिनै मध्येका केही सूचकहरु हुन् ।
यी सूचकहरुका अलावा बजारमा श्रम शक्तिको उपलब्धता र मागबाट पनि आर्थिक गतिवधिको मूल्याङ्कन गर्न सकिन्छ ।
महामारीको कारण सरकारले लकडाउन घोषणा गरेयता नेपालको श्रम बजार निकै सुस्ताएको छ । लकडाउन घोषणा हुने बित्तिकै बजारमा कामदारको माग र उपलब्धता ह्वात्तै घटेको थियो ।
धेरै मानिसहरुले एकैपटक रोजगारी गुमाएको हुँदा अबको ‘न्यु नर्मल’को समयमा आफ्नो श्रम बेच्नको लागि धेरै नै प्रतिस्पर्धा गर्नु पर्ने यो क्षेत्र सम्बद्ध मानिसहरु बताउँछन् ।
‘सरकारले लकडाउन घोषणा गर्नु केही दिन अघि देखि नै काम माग्ने र काम दिने दुवैको संख्या हाम्रोमा शून्य जस्तै भएको थियो,’ मेरोजब डट कम र रोजगारी सर्भिस प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरी बताउँछन् ।
गत असार १ गतदेखि लकडाउन खुकुलो भएसँगै मेरो जब र रोजगारीमा काम माग्नेको संख्या ह्वातै बढेको गिरी बताउँछन् । ‘असार १ गतेयता हाम्रो प्लेटर्फममा काम खोज्नेको संख्या ह्वात्तै बढेको छ । सामान्य समयकोभन्दा पनि बढी छ काम खोज्नेको संख्या । तर, काम दिने वा कर्मचारी खोज्नेको संख्या भने लकडाउनको समयभन्दा थोरै मात्र बढेको छ’, गिरीले चाणक्य पोष्टसँग भने ।
यसले के देखाउँछ भने बजारमा व्यापक मात्रामा रोजगारी गुमेको छ । औपचारिक क्षेत्रमा करिब ५० प्रतिशत रोजगारी गुमिसकेको मानव संशाधन क्षेत्रमा कार्यरत मानिसहरु बताउँछन् । अनौपचारिक क्षेत्र र स-साना उद्यमीहरुको तथ्याङ्क उपलब्ध नभएका कारण यसै भन्न नसकिने उनीहरुको बुझाइ छ ।
गिरीको मेरो जबले ‘ह्वाइट कलर’ र रोजगारी सर्भिसेसले ‘ब्लु कलर’ कर्मचारीहरुको माग र उपलब्धता संबोधन गर्दै आएको छ ।
अहिलेको समयमा गैरसरकारी क्षेत्रका लागि मात्र कर्मचारीहरुको आपूर्ति गरिरहेको शैलेन्द्रको अनुभव छ । ‘ब्लु कलर’ कर्मचारी आपूर्ति हुने मुख्य क्षेत्र होटल र रेष्टुरेन्टहरु हुन् । ती क्षेत्र ठप्प हुँदा त्यहाँ कर्मचारीको कुनै माग नभएको उनको अनुभव छ । तर, काम खोज्नेहरुको संख्या भने उच्च छ । यस्ता श्रम शक्तिहरुलाई सेवा दिने ‘रोजगारी पसल’ त उनले अहिलेका लागि बन्द नै गरेका छन् । शैलेन्द्रले विभिन्न जिल्लामा सञ्चाल गर्दै आएको घुम्ती रोजगारी सेवा पनि ठप्प नै छ ।
धेरै मानिसहरुले एकैपटक रोजगारी गुमाएको हुँदा अबको ‘न्यु नर्मल’को समयमा आफ्नो श्रम बेच्नको लागि धेरै नै प्रतिस्पर्धा गर्नु पर्ने यो क्षेत्र सम्बद्ध मानिसहरु बताउँछन् ।
‘अब अत्यन्तै प्रतिस्पर्धी ढंगले आफ्नो क्षमता अभिवृद्धि गर्नुको विकल्प छैन,’ गिरीले भने ।