भारतीय डलर अर्बपति मुकेश अम्बानीको कम्पनी जियोले पछिल्लो समय धमाधम विदेशी कम्पनीहरुलाई सेयर बेच्न थालेको छ ।
यसैक्रममा इलेक्ट्रोनिक चिप मेकर कम्पनी इन्टेल क्यापिटलले पनि जियो प्लेटफर्मको सेयर किनेको छ । इन्टेलले जियोको ०.३९ प्रतिशत सेयर स्वामित्व खरिद गर्ने भएको छ । इन्टेलले जियोमा १८९४.५० करोड भारु लगानी गर्ने घोषणा गरेको छ ।
इन्टेल अप्रिल यता जियोमा लगानी गर्ने ११ औं विदेशी कम्पनी हो । गत अप्रिलमा सामाजिक सञ्जाल फेसबुक प्रवेश गरेसँगै जियोमा लगानी गर्ने कम्पनीको संख्या ह्वात्तै बढेको हो ।
अप्रिल यता फेसबुकसहित सिल्भर लेक, भिस्टा इक्विटी, जनरल अटलान्टिक, के के आर, मुबाडला तथा सिल्भर लेकले लगानी गरेका छन् ।
यसैगरी अबुधाबी इन्भेष्टमेन्ट अथोरिटी, टीपीजी, एल क्याटरटन तथा पीआइएफले पनि जियोमा लगानीको घोषणा गरेको छ। योसँगै जियोमा लगानी गर्ने जम्मा कम्पनीको संख्या १२ पुगेका छन्।

जियोमा विदेशी कम्पनीको सेयर स्वामित्व २५ प्रतिशत भन्दा बढी पुगेको छ । जसमा सबैभन्दा धेरै सेयर स्वामित्व फेसबुकको ९.९९ प्रतिशत छ ।
इन्टेल लामो समयदेखि भारतमा काम गरिरहेको छ। इन्टेल क्यापिटलले विश्वस्तरको इनोभेटिभ कम्पनीहरुसँग काम गर्दै आएको छ।
क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स तथा अन्य प्राविधिक क्षेत्रमा इन्टेलले काम गर्दै आएको छ।
इन्टेलसँगको यो सम्झौतापछि रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा एमडी मुकेश अम्बानीले भारतलाई विश्वकै अग्रणी डिजिटल सोसाइटी बनाउने हाम्रो दृष्टिकोणलाई मूर्त रूप दिन यो सम्झौता सहयोगी हुने बताएका छन् ।
रिलायन्स जियो इन्फोकमको ३८ करोड ८० लााख ग्राहक छन्, जसका माध्यमबाट जियोले भारतमा साना तथा खुद्रा व्यापारीहरु, मझौला ब्यवसायी तथा किसानहरुलाई समावेश गरी ‘डिजिटल भारत’ बनाउने लक्ष्य राखेको जनाएको छ।