नेपाल पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लियो, सार्कमा कुन देशको प्रतिव्यक्ति आय कति

काठमाडौं । नेपाल इतिहासमै पहिलोपटक न्यून आय भएको मुलुकबाट निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ ।

 

विश्व बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो ।

 

अघिल्लो वर्षको तुलनामा प्रतिव्यक्ति आय १२० अमेरिकी डलर बढेर सन् २०१९ मा १ हजार ९० डलर  पुगेसँगै विश्व बैंकले नेपालाई न्यून मध्यम आए भएको देशको वर्गमा स्तरोन्नति गरेको हो । सन् २०१८ मा नेपालको प्रतिव्यक्ति आय ९७० अमेरिकी डलर थियो ।

 

सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी भएका मुलुकलाई विश्व बैंकले न्यूनमध्यम आय वर्गमा राखेको छ।

 

विश्व बैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने मुलुकलाई न्यून आयवर्गमा राख्दै आएको छ।

 

पछिल्ला तीन आर्थिक वर्षमा नेपालले लगातार साढे ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गरेसँगै नेपालीको आयस्तरमा समेत वृद्धि भएकाले नेपाललाई न्यूनमध्यम आय भएको देशमा स्तरोन्नति गरिएको विश्व बैंकले जनाएको छ ।

 

दक्षिण एशियामा माल्दिभ्स सबैभन्दा धेरै प्रतिव्यक्ति आय

 

विश्व बैंकका अनुसार माल्दिभ्स दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको मुलुक बनेको छ।

सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६५० अमेरिकी डलर रहेको विश्व बैंकले जनाएको छ । माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एकमात्रै देश हो ।

 

यसअघि उच्च मध्यम आय भएको श्रीलंकाको प्रतिव्यक्ति आय खस्केर न्यून मध्यम आय भएको देशमा झरेको छ ।

 

गत वर्ष श्रीलंकाको प्रतिव्यक्ति आय ४ हजार ६० अमेरिकी डलर थियो, भने यस वर्ष ४ हजार २० डलरमा खुम्चेको छ ।

 

दक्षिण एशियाली मुलुकमध्ये अब अफगानिस्तान मात्रै न्यून आयवर्गमा छ, जसको प्रतिव्यक्ति आय ५४० अमेरिकी डलरमात्रै छ ।

 

विश्वलाई ४ वर्गमा वर्गीकरण

 

विश्वबैंकले संसारभरीका देशलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ ।

विश्वका २९ मुलुक न्यून आय, नेपालसहित ५० मुलुक निम्नमध्यम, ५६ मुलुक उच्च मध्यम वर्ग र ८३ मुलुकहरू उच्च आयवर्गमा रहेका छन् ।

 

विश्व बैंकले १ हजार ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकहरू न्यून आयवर्गमा पर्छन् । १ हजार ३६ देखि ४ हजार ४५ डलरसम्म आय हुने निम्नमध्यम, ४ हजार ४६ देखि १२ हजार ३३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम र १२ हजार ३३६ डलर भन्दा माथि आम्दानी हुनेलाई हुनेलाई उच्च आय वर्गमा राखेको छ ।

एभरेष्ट ग्यास ग्रुपले कैलालीमा खोल्यो नयाँ उद्योग Read Previous

एभरेष्ट ग्यास ग्रुपले कैलालीमा खोल्यो नयाँ उद्योग

मौद्रिक नीतिमा बिना धितो कर्जाको व्यवस्था मिलाउन माग Read Next

मौद्रिक नीतिमा बिना धितो कर्जाको व्यवस्था मिलाउन माग