नक्कली भ्याट बिल प्रयोग गर्ने ३ फार्मका सञ्चालक विरुद्ध मुद्दा, साढे ४० करोड बिगो दाबी

काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले तीन वटा फार्मका सञ्चालकविरुद्ध मुद्दा चलाएको छ ।

 

उनीहरुलाई ४० करोड ६१ लाख रुपैयाँ बिगो असुल गरी बिगोको दोब्बर जरिवाना एवं कैद सजायको माग दाबी लिई उच्च अदालत पाटनमा बुधबार मुद्दा दायर गरिएको विभागले एक सूचना जारी गरी जनाएको छ ।

 

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकरको विजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौं महानगरपालिका-२५ बस्ने न्यूसागर प्लाष्टिक कन्सर्नका प्रोप्राराइटर सञ्जु किजु तथा मुख्य आरोपी सागर किजुले २६ करोड ८२ लाख रुपैयाँ छली गरेको आरोप छ ।

 

यस्तै सुप्रिम प्लाष्टिक कन्सर्नका सञ्चालक सागर किजुले राजश्व चुहावट गरेको अभियोगमा ५ करोड ७७ लाखसमेत जम्मा ३२ करोड ६० लाख रुपैयाँ बिगो असुल एवं कैद मागदाबी लिई मुद्दा चलाइएको छ ।

 

न्यूसागर प्लाष्टिक कन्सर्नले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धिकर र आयकरसमेतको राजश्व चुहावटको कसुर गरेको जनाइएको छ ।

 

यस्तै झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौंस्थित बिकोइरस्काइर बङ्गलामुखी जेभीका सञ्चालक साझेदार रोशनकुमार श्रेष्ठसमेतले राजश्व चुहावट गरेको अभियोगमा ८ करोड १ लाख बिगो असुल गरी मुद्दा चलाइएको छ ।

 

बिगोको दोब्बर जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

नागरिक स्टक डिलरले माग्यो सीईओका लागि दरखास्त, साउनदेखि कारोबार गर्ने तयारी Read Previous

नागरिक स्टक डिलरले माग्यो सीईओका लागि दरखास्त, साउनदेखि कारोबार गर्ने तयारी

सेयर बजारमा तीव्र उतरचडाव, हरेक दिन सर्किटै सर्किट, Read Next

सेयर बजारमा तीव्र उतरचडाव, हरेक दिन सर्किटै सर्किट,