काठमाडौं । सेयर बजारमा तीव्र उतरचडाव देखिएको छ । करिब ३ महिनापछि सोमबारदेखि खुलेको बजारमा दिनदिनै सर्किट लाग्दै आएको छ ।
सोमबार नेगेटिभ सर्किट लागेर ब्याक भएको बजार मंगलबार र बुधबार पूरा कारोबार नहुँदै पोजेटिभ सर्किट लागेर बन्द भएको थियो ।
दुई दिनमा करिब १५० अंकले बढेको बजार आज आधा घण्टा नबित्दै नेगेटिभ सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएको छ ।
बिहीबार बजार खुलेको २३ मिनेटमै बजार सूचक नेप्से ४ प्रतिशतभन्दा बढी अर्थात ५३ अंकले घटेपटि नेगेटिभ सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएको छ ।
यस अवधिसम्ममा १२९ कम्पनीको २२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेयर बजार खुलेको पछिल्लो ४ दिनमा मात्रै (आजको पहिलो सर्कटपछिको समय कारोबार हुन बाँकी) ८ पटक सर्किट लागिसकेको छ ।
लगानीकर्ता अन्योलमा
यसरी बजारमा तीव्र उतरचडाव आउँदा लगानीकर्तामा अन्योलमाता छाएको छ । केही लगानीकर्ताले बजारमा पर्याप्त तरलता उपलब्ध, बैंकको ब्याजदर घट्नु, तत्कालै अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएको जस्ता कारण सेयर बजार बढ्ने बताइरहेका छन् । त्यसकै कारण हिजोअस्ती पोजेटिभ सर्किट लागेको उनीहको भनाइ छ ।
अर्काथरी लगानीकर्ता भने नेप्सेले ‘प्लेजड’ सेयर बेच्न रोक लगाएसँगै बजारमा आपूर्ति कम भएर बजार बढेको बताउँछन् । खरिदकर्ताको तुलनामा विक्रीकर्ता नहुँदा सेयरको मागमा चाप बढ्दा बजार उचालिएको उनीहरुको तर्क छ ।
अहिले कोरोनाबाट ग्रसित भएका लगानीकर्ताको मनोबल उच्च नभएकाले दीर्घकालीन रुपमा बजार कुन दिशामा जान्छ भनेर अनुमान लगाउन नसक्ने स्थिति रहेको जानकारहरु बताउँछन् ।
यस्तो अवस्थामा लगानीकर्ता आत्तिएर वा हौसिएर सेयर किनबेच गर्नुभन्दा पनि केही समय बजारको स्थिति हेरेर अगाडि बढ्नुपर्ने उनीहरुको भनाइ छ ।