काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा अनलाइन होम डेलिभरी शुरु गरेको छ ।
मंगलबारदेखि अनलाइन होम डेलिभरी सेवालाई विस्तार गरी कर्णाली प्रदेशको राजधानी सुर्खेत कार्यालयबाट होम डेलिभरी सेवाको शुरुआत गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ । लकडाउन केही खुकुलो भएसँगै कम्पनीले निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरी चक्रपथ बाहिर खाद्य पदार्थ निःशुल्क रुपमा (डेलिभरी चार्ज नलिई)होम डेलिभरी गर्दै आएको छ ।
काठमाडौंपछि पहिलो प्रदेशका रुपमा सुर्खेतबाट अनलाइन बिक्रीवितरण सेवा सञ्चालन गरिएको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख भीम थापाले जानकारी दिए । ‘शुरुआती चरणमा हामीले तीन प्रकारका चामल र कर्णालीको फापर बिक्री वितरणमा राखेका छौँ, उपभोक्ताको मागअनुसार अन्य सामग्री विस्तार थप गर्दै जानेछौँ,’ उनले भने ।
कम्पनीले काठमाडौं उपत्यकाभित्र तीन प्रकारका चामल (रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल), कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल, गहुँको पिठो, आयो नून, डिडिसीको शुद्ध घ्यु, वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो र स्यानिटाइजर अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ ।
अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था छ ।