काठमाडौं । सेयर बजारमा तीव्र उछाल आएको छ । मंगलबार तेस्रो सर्किट लागेर सवा २ घण्टामै कारोबार बन्द भएको सेयर बजार आज पनि खुलेको १३ मिनेटमै पहिलो सर्किट लागेको छ।
हिजो करिब ७२ अकंले बढेर आधा दिनमै बन्द भएको बजार आज खुलेदेखि उकालो लागे १३ मिनेटमै ४ प्रतिशतभन्दा बढी अर्थात् करिब ५१ अंकले बढेर सर्किट लागेको छ । यससँगै नेप्सेले २० मिनेटको लागि कारोबार बन्द गरेको छ ।
यस अवधिसम्म ९६ कम्पनीको करिब साढे १३ करोड रुपैयाको कारोबार भएको छ ।नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।
त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।