काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले कोरोना महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३० लाख अमेरिकी डलर (करिब ३६ करोड रुपैयाँ) अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
एडीबीले एसिया-प्रशान्त विपत् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको छ ।
जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो ।
यसअघि पनि एडीबीले ३ करोड ६० लाख रुपैयाँ स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपतलीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो ।