शेखर अर्याल नेपाली सेयर बजारका पूर्णकालीन लगानीकर्ता हुन् । उनले सेयर बजारमा सक्रिय रुपमा काम गर्न थालेको १ दशक भन्दा बढी भयो । नेपाली सेयर बजारको उच्च र न्यूनतम विन्दु दुवै देखेका छन् उनले ।
तर, नेपाली बजारलाई अहिलेको (कारण जेसुकै होस् ) जस्तो भताभुङ्ग अवस्थामा उनले कहिल्यै पनि देखेका थिएनन् । कोरोनाको कारणले सुरु भएको लकडाउनका कारण ३ महिनादेखि बन्द रहेको बजार खुलाउन सरोकारवाला निकायले लामो समयसम्म गृहकार्यमा जुट्नुपरयो ।
नेप्सेले बोर्डलाई र बोर्डले मन्त्रालयलाई अनि फेरि नेप्सेले नयाँ सफ्टवेयर निर्माता कम्पनीलाई (वाईको) दोष थोपर्दै गर्दा बजार लकडाउन खुलेको अर्को १५ दिन बजार खुल्न सकेन । नेप्सेका अधिकारीहरु भन्छन् ‘यो सबै कार्यहरु बजार सुधार गर्नका लागि गरिएको प्रयास हो ।’
अब कसैले आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थामा रोक्का रहेको सेयर बेच्नका लागि सबैभन्दा पहिले भारी ब्याजदरमा पैसा खोजेर बैंकले फाइनान्स गरेको रकम, त्यो पनि ब्याज सहित अग्रिम तिरेपछि मात्र सेयर फुक्का हुने भयो ।
बजारको आफ्नै गति हुन्छ । कहिले बजारमा उछाल आउँछ त कहिले बजारमा धिमापन पनि आउँछ । सेयर बजारका लगानीकर्ताहरुको हित संरक्षण गर्न बनेका लगानीकर्ता संघले सधैं बजारलाई हरियो मात्र हुनु पर्छ भन्ने मान्यता राख्नु र त्यसो नहुँदा अनसन बस्न तयार हुनु बजारका लागि हानिकारक सिद्ध भइसकेको छ ।
यत्रो तयारी र माथापच्छी पछि बल्लबल्ल सोमबारबाट खुलेको मार्केटमा नेप्सेले फेरि एकपटक शेखर जस्ता लगानीकर्तालाई कहीँ नभएको अप्ठ्यारो अवस्थामा पुर्याइदिएको छ ।
नेप्सेले लगाएको नयाँ नियम अनुसार अबदेखि आफ्नो खातामा नभएको वा खातामा भएर पनि रोक्का (प्लेजड सेयर) बिक्री गर्न नसकिने अवस्था आएको छ ।
नेप्सेका अनुसार यो कार्यले अब उप्रान्त आफ्नो खातामा नभइकन सेयर बिक्री गर्ने अथवा आज किनेर आजै बिक्री गर्ने जस्ता मार्केटलाई ‘म्यानुपुलेट’ गर्ने कार्य रोकिने छ । बजार स्वस्थ रुपमा अगाडि बढ्ने छ । नेप्सेको दाबी अनुसार बजार म्यानुपुलेट गर्ने ध्ययका साथ गरिने कार्यहरु ( आफ्नो खातामा नभइकन सेयर बिक्री गर्ने अथवा आज किनेर आजै बिक्री ) कार्यहरुको रोकावटले अब बजार शुद्ध हुनेछ ।
तर, नेप्सेले नबुझेको कुरा के हो भने सेयर खरिद बिक्री गर्ने काम विश्व बजारमा गरिने सामान्य क्रियाकलाप हो । हो, नेपाली बजार विदेशको जस्तो परिपक्व त भएको छैन तर यो सबै कार्य रोक्नका लागि पहिले नै यथेष्ठ नियम रहेको थियो । सीडीएससी तथा नेप्सेले चाहेको भए यस्तो प्रकारको नियम विपरीत गरिने गलत कार्यका लागि सम्बन्धित ग्राहक वा ब्रोकरलाई कारवाही गर्ने अधिकार रहेकै थियो ।
तर केही गतल प्रवृत्तिको कार्य रोक्न भन्दै नेप्सेले सेयर मार्केट चलायमान बनाउने मार्जिन ट्रेडिङको कार्य रोकिदिएको छ । यो भनेको कस्तो भयो भने लामखुट्टे आएर छातिमा बस्यो भने लामखुट्टे भगाउनुको साटो छातिमै गोली ठोकिदिए जस्तो !
कतिपय लगानीकर्ताका अनुसार लकडाउन पछिको मार्केट धेरै नघटोस् भनेर आपूर्ति रोक्नका लागि गरिएको नियोजित चाल हो । हाम्र्रो सेयर बजारमा सूचीकृत भएका ७० प्रतिशत भन्दा बढी सेयर प्लेजमा रहने गरेको अनुमान गरिएको छ ।
तर केही गतल प्रवृत्तिको कार्य रोक्न भन्दै नेप्सेले सेयर मार्केट चलायमान बनाउने मार्जिन ट्रेडिङको कार्य रोकिदिएको छ । यो भनेको कस्तो भयो भने लामखुट्टे आएर छातिमा बस्यो भने लामखुट्टे भगाउनुको साटो छातिमै गोली ठोकिदिए जस्तो !
यो कुरामा नेप्सेका अधिकारीहरु सहमत त छैनन् । तर, रोक्का रहेको सेयरमा बैंक र ब्रोकरको नियन्त्रणमा मात्र पैसाको कारोवार हुने प्रक्रिया पनि रोकिन्छ भनेर आफूहरुले अनुमान गर्न नसकेको जस्तो हास्यास्पद कुरा बताउँछन् ।
अब कसैले आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थामा रोक्का रहेको सेयर बेच्नका लागि सबैभन्दा पहिले भारी ब्याजदरमा पैसा खोजेर बैंकले फाइनान्स गरेको रकम, त्यो पनि ब्याज सहित अग्रिम तिरेपछि मात्र सेयर फुक्का हुने भयो ।
पैसा तिरे पनि सेयर फुक्का हुन २ दिनसम्म लाग्ने भयो । बजार यती चलाएमान हुन्छ कि २ दिनसम्ममा आफूले बेच्न चाहेको मूल्य र खरिद कर्ताहरुको मागमा धेरै परिवर्तन भइसकेको हुन्छ ।
‘यो त अब फिक्सड डिपोजीटमा पैसा राखेको जस्तो हुने भयो’, अर्का लगानीकर्ता कृष्ण शर्मा भन्छन्, ‘अब सेयर भनेको तुरुन्तै निर्णय गरेर खरिद बिक्री गर्न पाउने सम्पत्ति रहेन ।’ उनका अनुसार आज मार्केट बढेको वा घटेको मूल्यमा आफूलाई इच्छा लागेको सेयर खरिद बिक्री गर्न पाउनु नै यो बजारको सुन्दरता हो ।
शेखरलाई लकडाउन पछि रकमको सारै आवश्यकता पर्यो । तर, आफ्नो अनलाईन ट्रेडिङको सफ्टवेर मार्फत सेयर बिक्री गर्न खोज्दा उसको बिक्री अर्डर नै प्रविष्ट भएन । आफ्नो ब्रोकरलाई सोध्दा पहिला सेयर फुक्का गर्नुस अनि मात्र बिक्री गर्न मिल्छ भन्ने जवाफ उनले पाए ।
‘अब बैंकलाई सेयर फुकुवा गरिदेउ भन्दा पहिला सेयर रोक्का गरेर दिए बराबरको रकम जम्मा गरिदिनुस् अनि मात्र फुकुवा हुन्छ भन्दै छ,’ शेखर भन्छन् ।
पहिला सेयर बिक्री अर्डर अनुसार सेयर बिक्री हुन्थ्यो अनि बैंकलाई आवश्यक धितो फुकुवा बराबरको सावाँ र ब्याजको ‘पोस्ट डेटेड’ चेक प्रदान गर्दथ्यो । अनि बैंकले ब्रोकरको चेकका आधारमा उसको धितो फुकुवा गरिदिने गरेको थियो ।
‘अब ब्रोकरहरु पहिला जस्तै पोस्ट डेटेड चेक दिन नमिल्ने बताउँछन् । हामीले केको आधारमा चेक दिने ? ‘यदि हामीले दिएको चेकको आधारमा बैंकले धितो फुकुवा गरिदियो तर अन्य निकाय वा केही प्राविधिक कारणले उक्त सेयर बिक्री भएन भने यसको जोखिम कसले व्यहोर्ने ?’ एक ब्रोकर प्रश्न गर्छन् ।
अब यस्तो अवस्थाको सृजना गरेर कसरी धितोपत्र बजार अगाडि बढ्ला ?
नेप्से, धितोपत्र बोर्ड जस्ता संस्थाहरुले कुनैपनि निर्णय गर्दा आउन सक्ने यति सामान्य अवस्थाको पनि हेक्का नराखेर अपरिपक्व नियम बनाउँछन् भने बजार दीर्घकालीन रुपमा कसरी अगाडि बढ्ला ?
बजारमा हिजो झण्डै ५० अंकको उतारचढाव भएर १२ अंकले घटेको थियो भने आज करिब ७२ अंकले बजार उक्लेको छ । तर, बजारले दिएको यस्तो अवस्थामा पनि करिब ७० प्रतिशत सेयर कारोबार हुनबाट नीतिगत रुपमै वञ्चित गरिए । यसले कसको र कस्तो स्वार्थ पूर्ति गर्छ ?