भैंसेपाटीमा मन्त्री निवास निर्माण धमाधम, यस्तो छ भौतिक प्रगति

काठमाडौं । ललितपुरको भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्री निवासको २५ प्रतिशत भौतिक प्रगति भएको छ । मन्त्री निवास निर्माणका क्रममा २७ वटा मध्ये ११ वटा ब्लकको ‘अप्पर टाई बीम’ कार्य सम्पन्न भएको छ ।

 

बाँकी १६ वटा ब्लकको ‘लोअर टाई बीम’ को कार्य सम्पन्न भएको छ । हाल उक्त १६ वटा ब्लकको अपर टाई बीमसम्मको इँटा लगाउने काम र फर्मको काम भइरहेको आयोजना प्रमुख प्रमोद कर्मचार्यले बताए ।

 

यस्तै निर्माणको आर्थिक तर्फ १८ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । केही समय अघि भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले निर्माणाधीन मन्त्री निवासको निरीक्षण समेत गरेका थिए ।

 

दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १२४ रोपनी ६ आना रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनीधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन् ।

 

लकडाउनका कारण तीन महिना काममा अवरोध आएको थियो । सो समयमा थोरै मात्र काम भएको उनले बताए । लकडाउन खुकुलो भएलगत्तै निर्माण क्षेत्रलाई सामान्य रुपमै अघि बढाइएको उनले बताए ।

 

‘आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर कामलाई सामान्य रुपमै अघि बढाउने कार्ययोजना रहेको छ,’ आयोजना प्रमुख कर्मचार्यले चाणक्य पोष्टसँग भने । निर्माणलाई तीव्रता दिन निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या हुन नदिइने मन्त्री नेम्वाङले आश्वासन दिएका छन् ।

 

संघीय मन्त्री निवासको २०७६ असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । पुलचोक मन्त्री निवास साँघुरो भएकाले भैंसेपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको हो । संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालयहरु समेत रहने छ ।

 

दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १२४ रोपनी ६ आना रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनीधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन् ।

 

दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेशप्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । यहाँ सातवटा ब्लक रहेको छ । प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन् । एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ । सबै भवनहरु साडे दुई तलाको बन्नेछन् ।

 

संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४३७ रुपैयाँ (भ्याटसहित) रहेको छ । यस योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ । त्यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित) रहेको छ । यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ ।

 

सम्झौता बमोजिम मन्त्रीहरुको निवास २४ वटा, राष्ट्रिय सभाको अध्यक्षको निवास १, राष्ट्रिय सभाको उपाध्यक्षको निवास १, उपसभामुखको निवास १, इन्टरनल रोड नेटओर्क, बहुउद्देशीय सभाहल १, डीयूडीबीसी कार्यालय भवन १, हेल्थ क्लब १, स्वीमिङपुल १, हेलिप्याड, सुरक्षा जवानहरुको निवास र वाटर ट्यांक निर्माण गरिने छ ।

छातिमा बसेको लामखुट्टे भगाउन छातिमै गोली ठोक्ने नेप्सेको नीति, यस्तो छ बजार बढ्नुको भित्री रहस्य Read Previous

छातिमा बसेको लामखुट्टे भगाउन छातिमै गोली ठोक्ने नेप्सेको नीति, यस्तो छ बजार बढ्नुको भित्री रहस्य

निगमले पेट्रोल, डिजेलको भाउ बढायो, लिटरमा कति बढ्यो Read Next

निगमले पेट्रोल, डिजेलको भाउ बढायो, लिटरमा कति बढ्यो