काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ३१६ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा १४ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १२ जना, भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका हुन् ।
अहिलेसम्म देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ३ हजार १९४ जना कोरोना संक्रमित निको भइसकेका छन् ।
अहिलेसम्म कोरोनाबाट २९ जनाको मृत्यु भएको छ ।