काठमाडौं । डेढ महिनापछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । वैशाख ३१ गते पछि पहिलोपटक खुलेको बजार करिब १३ अंकले घटेको छ ।
सोमबार कारोबार सुरु भएको ४० मिनेटमै ४ प्रतिशतभन्दा बढीले घटरे नेगेटिभ सर्किट लागेर २० मिनेट कारोबार रोकिएको थियो । ४८ अंकले घटेर सर्किट लागेको बजारले पुनरागमन गर्दै १३ अंकले घटेर बजार बन्द भएको छ ।
सेयर बजार मापक सूचक नेप्से १२.८७ अंकले घटेर ११८८.७१ अंकमा आइपुगेको छ । आज १३० कम्पनीको ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको छ । ९ लाख ७० हजार ७६ कित्ता सेयर कारोबार भएको छ ।
कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेका छ भने बाँकी ८ समूहको सूचक ओरालो लागेको छ । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २३७.७२ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक १०१.४६ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा हिमालय डिस्ट्रिलरीको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड ४३ लाखभन्दा बढीको कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र एनआसी एशिया बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । यी दुवै कम्पनीको साढे २ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज ८ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । आज हिमालय डिस्ट्रिलरी, नागरिक लगानी कोष, नेपाल इन्भेष्टमेन्ट बैंकको साधरण सेयर संस्थापक सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, स्वाबलम्वन लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको सेयर मूलय करिब १० प्रतिशतले घटेको छ ।