भारतकै पहिलो ‘प्लाज्मा बैंक’ स्थापना गर्ने केजरीवालको घोषणा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतकै पहिलो ‘प्लाज्मा बैंक’ स्थापना गर्ने घोषणा गरेका छन् ।

 

कोरोनाबाट संक्रमित भएर निको भएका मानिसहरुको रगतबाट प्लाज्मा निकालेर संक्रमितहरुको उपचार गर्दा सकारात्मक नतिजा आउने कारण यस्तो प्लाज्मा बैंक स्थापना गर्न लागेको केजरीवालले बताएका छन् ।

 

‘दिल्ली सरकारले प्लाज्मा बैंक स्थापना गर्ने छ । बैंकले आफ्नो काम दुई दिन भित्र शुरु गर्ने छ । प्लाज्मा बैंक दिल्लीको इन्सटिच्युट अफ लिभर एण्ड बाइलरी साइन्सेसमा स्थापना गरिने छ । प्लाज्मा चाहिएका कोरोनाका संक्रमितहरुको लागि डाक्टरको सिफारिसको आवश्यकता पर्नेछ,’ केजरीवालले भने । साथै, उनले कोरोनाबाट निको भएका मानिसहरुलाई प्लाज्मा दान गर्न समेत आग्रह गरेका छन् ।

 

भारतमा अहिलेसम्म ५ लाख ५० हजार कोरोना संक्रमितहरु भेटिएका छन् भने पछिल्लो २४ घण्टामा झण्डै २० हजार संक्रमित भेटिएका छन् । भारतमा अहिलेसम्म भेटिएका झण्डै ५.५ लाख संक्रमित मध्ये ३.२ लाख संक्रमित निको भइसकेका छन् भने २.१ लाख मानिस अझै संक्रमित रहेका छन् ।

 

भारतमा संक्रमण बढेसँगै असाम र मनिपुर जस्ता राज्यहरुले पूर्ण र आंशिक लकडाउन गरेका छन् भने तेलङगना लगायत अन्य राज्यहरुले पनि केही कडाइ गरेका छन् । भारतमा १ लाख जना संक्रमित पछिल्लो एक हप्तामै थपिएका हुन् ।

 

विश्वभर हालसम्म १ करोड संक्रमित भएका छन् भने ५ लाखले कोरोनाका कारण ज्यान गुमाएका छन् । अमेरिका, ब्राजिल, रुस, भारत र बेलायत कोरोनाबाट धेरै प्रभावित देशहरु हुन् ।

डेढ महिनापछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ कम्पनीको मूल्यमा सर्किट Read Previous

डेढ महिनापछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ कम्पनीको मूल्यमा सर्किट

मौद्रिक नीतिमा व्यवसायसँग सम्बन्धित नीतिमा सहजीकरण गर्न एक्यानको आग्रह Read Next

मौद्रिक नीतिमा व्यवसायसँग सम्बन्धित नीतिमा सहजीकरण गर्न एक्यानको आग्रह