६ वर्षमा पनि बनेन् चाबहिल-साँखु सडक, सर्वसाधरण हिलाम्य सकडमा यात्रा गर्न बाध्य

काठमाडौं । वर्षा लागेसँगै चावहिलबाट उत्तरपूर्व लाग्ने सडकमा पानीको पोखरी जमेपछि आवागमनमा समस्या हुन थालेको छ ।

 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको ६ वर्ष बितिसक्दा पनि काम पूरा हुन सकेको छैन ।

 

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक यातायात बन्द रहेकाले बाइकमा हिँड्दा हिलाम्य हुन बाध्य हुनुपरेको रामचन्द्र पुडासैनीले गुनासो गरे ।

 

सडककै कारण घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्यमा यात्रा गर्न बाध्य हुनुपरेको उपभोक्ताको गुनासो छ । तीन तहको सरकार बनेको तीन वर्ष पूरा भएपनि राजधानीको मुख्य भागका समस्या समाधान हुन नसकेको जोरपाटीका मङ्गले तामाङ बताउँछन् ।

 

चावहिल-बौद्ध-जोरपाटीको सडकबीच भागमा कालोपत्र सकिएको छ । दायाँबायाँ ढल विच्छ्याउने लगायतका काम भने सकिएको छैन । जोरपाटीबाट साँखुतिरको सडकका आधादर्जन स्थानमा सडक सीमाको विवाद रहेको आयोजनाले जनाएको छ ।

 

यस्तै समस्या जोरपाटीबाट सुन्दरीजलतिरको सडकमा पनि छ । समस्या समाधानका लागि यी सडकमा पर्ने तीनवटा स्थानीय तहले समेत काम गर्न नसकेको स्थानीयवासीको दुःखेसो छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिका, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका पर्छन् ।

 

सडक निर्माणमा आइपरेका विभिन्न समस्याका कारण चावहिलबाट उत्तरपूर्व जाने सडक पूरा हुन नसकेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरुप्रसाद अधिकारी लामो समयपछि बिजुली पोलको समस्या समाधान भए पनि विस्तार गर्ने स्थानका मानिस अदालतमा मुद्दा लिएर गएकाले काम गर्न नसकिएको बताउँछन् ।

 

विवादका कारण ढिला भएको सडक बन्दाबन्दी शुरु भएपछि भने निर्माण सामग्री नपाएरै काम हुन नसकेको उनले जानकारी गराए ।उत्तरपूर्व आउन वैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको चुच्चेपाटी–तीनचुले–आरुबारी हुँदै गोकर्णेश्वर महादेव मन्दिर निस्कने बाटोसमेत जीर्ण छ ।

 

मित्रपार्कबाट गुह्येश्वरी हुँदै वाग्मती नदी किनारबाट जोरपाटी नारायणटार निस्कने सडकको अवस्था पनि उस्तै छ । यस क्षेत्रमा गुड्ने विभिन्न प्रयोजनका पानीको ट्याङ्करका कारणसमेत सडक विग्रने गरेको छ ।

 

वर्षा सकिएपछि जहाँ जहाँ जति जति सडक उपलब्ध हुन्छ, त्यतिमै कालोपत्र गर्ने गरी तयारी भइरहेको छ । उपलब्ध सडकमा मङ्सिरसम्ममा कालोपत्र गरिसक्ने आयोजनाको लक्ष्य छ । आयोजनाले सडक बनाउने स्थान खाली नभइ ठेक्का गरेका कारण राम्रो भएका स्थानको सडकसमेत निर्माण शुरु भएपछि बिग्रिएको छ ।

 

सडकको दूरावस्थाका कारण सवारी दुर्घटनासमेत बढ्ने गरेको छ । सडकमा बनेको हिलो पोखरीमा बाइक पल्टने गरेका छन् । सवारीले हिलो छ्यापेर पैदलयात्रीलाई सास्ती हुने गरेको छ ।रासस

पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, ९ जनाको मृत्यु, दर्जनौं घाइते Read Previous

पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, ९ जनाको मृत्यु, दर्जनौं घाइते

देशको अर्थतन्त्रको अवस्था धेरै सकारात्मक छ, ८० प्रतिशत चलायमान भइसक्यो : अर्थमन्त्री Read Next

देशको अर्थतन्त्रको अवस्था धेरै सकारात्मक छ, ८० प्रतिशत चलायमान भइसक्यो : अर्थमन्त्री