पाकिस्तान स्टक एक्सचेन्जमा सशस्त्र आक्रमण भएको छ । हतियारधारी समूहको आक्रमणबाट सुरक्षाकर्मीसहित ९ जनाको मृत्यु भएको छ ।
कराँचीमा भएको उक्त आक्रमणमा ४ जना सुरक्षाकर्मी, ४ जना हतियारधारी समूहकासदस्य र १ जना सर्वसाधारणको पनि मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्य धेरै मानिसहरु पनि घाइते भएका छन् ।
हतियारधारीहरुले गाडीबाट बाहिर निस्केर स्टक एक्सचेन्जमा छिर्नुभन्दा पहिलेस्टक एक्सचेन्ज परिसरमा ग्रिनेड फ्याँकेका थिए । उक्त भवन पाकिस्तानको उच्च सुरक्षित क्षेत्र हो । त्यहाँ पाकिस्तानका धेरै बैंकहरुका प्रधान कार्यालय रहेका छन् ।
कराँचीका प्रहरी प्रमुखले हतियारधारीहरुसँग भिडन्त भएको पुष्टि गरेका छन् । ‘घटनाबारे कुराहरु बिस्तारै बाहिर आउँदै छन् । व्यवस्थापनले सुरक्षाकर्मीहरुको सहयोगमा सुरक्षा र समग्र अवस्था नियन्त्रणमा ल्याउने काम गरिरहेको छ,’ पाकिस्तान स्टक एक्सचेन्जले ट्वीटरमा बताएको छ ।
अहिलेसम्म घटनाको कसैले पनि जिममेवारी लिएको छैन ।