अन्न बालीको विकल्प नगदे बाली : किसानहरु चिया खेतीतर्फ आकर्षित

चौतारा । आफूले दुःख गरेर लगाएको अन्न बालीलाई बाँदर, दुम्सी र बँदेल लगायतका जङ्गली जनावरले हरेक वर्ष नोक्सान गर्न थालेपछि सिन्धुपाल्चोक लेकाली भेगका किसानले विकल्पका रुपमा चिया खेती गर्न थालेका छन् ।

समुद्री सतहबाट करीब दुई हजार ५०० मिटरको उचाइमा पर्ने चौतारा सागाचोकगढी नगरपालिका–१ स्याउलेअन्तर्गतका सानो ओख्रेनीमा यस वर्ष ६ हजार ६०० चियाका बिरुवा लगाउने कार्यक्रमअन्तर्गत चार हजार २०० विरुवा रोपिएको वडाध्यक्ष सानुकान्छा श्रेष्ठले बताए।

 

लेकाली भेग भएकाले वर्षको एक बाली जौ, करु र आलु मात्र हुने सो गाउँमा किसानले वर्षदिन खाने खाद्यान्नका लागि अन्य पेशा अपनाउँदै आएका छन् । दुःख गरेर लगाएको त्यही बाली पनि प्रत्येक वर्ष बाँदर, दुम्सी र बँदेलले नोक्सान गर्न थालेपछि विकल्पका रुपमा चिया खेती शुरु गरिएको छ ।

 

चिया लगाउँदा जनावरबाट जोगिनाका साथै अन्तर्राष्ट्रिय बजारमा समेत पुग्ने हुँदा आयस्रोत पनि राम्रो हुने भएकाले त्यसतर्फ आकर्षित भएको वडा सदस्य रवीन्द्र शर्माले थपे । हाल आठ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा खेती शुरु गरिएको छ ।

 

राष्ट्रिय चिया विकास बोर्डले सम्भाव्यता अध्ययन गरी उपयुक्त देखेपछि जिल्लाकै भोटेचौरस्थित नर्सरीबाट बिरुवा झिकाएर रोप्न शुरु गरिएको हो । त्यसका लागि पहिलो चरणमा २५ सदस्यीय कृषक समूह गठन गरिएको छ । किसानले चियासम्बन्धी अल्पकालीन तालीमसमेत लिएका छन् ।

त्यसैगरी गत वर्ष हेलम्बु गाउँपालिका–१, २, ४, ६, ७ सहित ५ वडामा ३१ हजार अर्थोडक्स चिया खेती शुरु भएको थियो र त्यसको नतिजा राम्रै निस्केको छ । भोटेकोशी गाउँपालिका, पाचँपोखरी थाङपाल गाउँपालिकालगायत हिमाली भेकका किसान पनि परम्परागत अन्नबालीको विकल्पमा किवी, स्याउ, चिया, कफी तथा अलैँची जस्ता नगदेबालीतर्फ आकर्षित भएको पाइएको छ ।

 

जिल्लाका प्रायः सबै ठाउँमा बाँदरको बिगबिगी बढ्न थालेपछि खेतको धान भित्र्याएपछि हिउँदे बालीका रुपमा लगाइने गँहु तथा मकै बाली प्रायःजसोले लगाउनै छाडिसकेका छन् ।रासस

अमेरिकामा नेपाल भ्रमण शुरु Read Previous

अमेरिकामा नेपाल भ्रमण शुरु

शेयर बजार उकालो यात्रामा, नेप्से ६ अंकले बढ्यो Read Next

शेयर बजार उकालो यात्रामा, नेप्से ६ अंकले बढ्यो