काठमाडौं । लकडाउन यता बन्द रहेको सेयर बजार आज (सोमबार) देखि खुल्ने भएको छ ।
आइतबार बसेको नेपाल धितोपत्र बोर्ड संचालक समितिको बैठकले सेयर कारोबार गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएसँगै आजदेखि बजार खुल्ने निश्चित भएको हो ।
बोर्डको निर्देशनसँगै आइबारै बसेको नेप्से सञ्चालक समितितिको बैठकले लकडाउन अघिकै नियममा बजार खोल्ने निर्णय गरेको छ । नेप्सेका अनुसार आजदेखि ४ घण्टा ( बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) बजार खुल्ने छ ।
लकडाउनअघि केही समय परीक्षणको लागि भन्दै दैनिक ५ घण्टा कारोबार गर्दै आएको भए पनि सोमबारबाट भने ४ घण्टा मात्रै कारोबार हुने नेप्सेले जनाएको छ ।
सर्किट ब्रेकमा पुरानै नियम लागू हुने
नेप्सेले बजारमा सर्किट ब्रेकर सम्बन्धी पुरानै व्यवस्था कायम रहने जनाएको छ । पुरानो सर्किट ब्रेकर अनुसार नेप्से दैनिक अधिकतम ६ प्रतिशत घटेमा वा बढेमा सर्किट ब्रेकरलागि सो दिनका लागि कारोबार बन्द हुनेछ ।
कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा १५ मिनेटसम्मका लागि कारोबार स्थगित हुनेछ।
पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ३० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।
नेप्सेले लकडाउनको बीचमा बैशाख ३० र ३१ गते २ दिन बजार खोल्दा सर्किट ब्रेकको नियम परिवर्तन गरि कारोबार अवधिभर २ प्रतिशतले घटबढ भएमा बजार बन्द हुने व्यवस्था गरेको थियो ।
ब्रोकर कार्यालयले स्क्रीन रुम सञ्चालन गर्न नपाउने
यसअघि ब्रोकर कार्यालयहरुले लगानीकर्ताको सुविधाका लागि स्क्रीन रुम सञ्चालन गर्दै आएका भए पनि हाललाई भने त्यो सञ्चालन गर्न नपाउने भएका छन् । नेप्सेले अर्को व्यवस्था नहुन्जेलसम् स्टक ब्रोकरहरूले लगानीकर्ताहरूका लागि सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ ।
यस्तै बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएससि, मर्चेन्ट बैंकरले यस अघि जारी भएको कोभिड सुरक्षाका उपायहरू पालना गरी कारोबार गर्नुपर्ने ।
धितोपत्र बजार सम्बद्ध संस्थाहरूले उपयुक्त स्वास्थ्य सुरक्षा विधिहरू नअपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्था उपर कारबाही गरिने नेप्सेले जनाएको छ ।
यस्तै नेप्सेले लगानीकर्ताहरूले सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न आग्रह गरेको छ ।
