कामदार अभावमा ३ हजार क्षमताको गोदावरी सम्मेलन केन्द्र निर्माणमा ढिलाई

काठमाडौं । ललितपुरको गोदावरीमा बन्दै गरेको ३ हजार जना क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ । लकडाउनका कारण झण्डै २ महिना काम ठप्प भएको सम्मेलन केन्द्रको काम केही दिन अघि पुनः सुचारु गरिएको हो ।

 

जनशक्ति अभावका कारण सो कामले अझै गति लिन नसकेको आयोजना प्रमुख मचाकाजी महर्जनले जानकारी दिए । उनका अनुसार हाल मुख्य कामहरु मजदूर अभावका कारण सुरु गर्न नसकिए पनि वाल लगाउने काम भने भइरहेको छ ।

 

‘कामले लकडाउन अघि जस्तो गति लिन सकेको छैन । हामी कर्मचारीहरुलाई कसरी फिर्ता ल्याएर कामलाई गति दिन सकिन्छ भनेर छलफल गरिरहेका छौँ,’ महर्जनले चाणक्य पोष्टसँग भने ।

 

एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न मिल्ने मुलुककै पहिलो सम्मेलन केन्द्र हुनेछ । सम्मेलन केन्द्रमा कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ३ तले भवन निर्माण भइरहेको छ ।

 

यस्तै लकडाउनको समयमा ७ प्रतिशत मात्र काम भएको उनले जानकारी दिए । आर्थिकतर्फ भुक्तानी गर्न अझै बाँकी रहेकाले हालसम्म ४३ प्रतिशत मात्र आर्थिक प्रगति भएको महर्जनले बताए ।

 

इन्जिनीयर देवेन्द्र देव खनालका अनुसार हालसम्म स्ट्रकचरको काम अन्तिम चरणमा रहेको छ । अन्तिम तल्ला ढलान गर्न बाँकी रहेको र छाना हाल्ने ट्रसको काम बाँकी रहेको उनले बताए ।

 

फिनिसिङ, हल रोलिङ लगायतका कामहरु अझै बाँकी रहेको उनले बताए । सुरुमा लक डाउनको बीचमा सुरक्षा सहित काम गर्न खोजेका थियौँ तर, कोरोनाको त्रासले मजदूरहरु भागेको भन्दै खनालले भने ‘अब उनीहरुलाई ल्याउन सिफारिस गरेका छौँ । उनीहरुलाई ल्याए पछि पनि पीसीआर गर्नु पर्ने छ, त्यसको लागि छलफल भइरहेको छ ।’

 

लकडाउन पूर्ण खुलेपछि निर्माण सम्पन्न हुन ३ महिना लाग्ने प्रमुख महर्जन बताउँछन् । आवश्यक सामग्री तयारी अवस्थामा भएकाले लकडाउन खुल्ला पछि कुनै पनि काममा ढिलाइ नहुने उनले बताए ।

 

आधुनिक र प्रविधियुक्त यो केन्द्र फागुन अन्तिमसम्ममा बनिसक्ने गरी सम्झौता भएपनि लकडाउनका कारण निर्माणले गति लिन सकेको छैन ।

 

दैनिक २ सयभन्दा बढी कामदारले काम गरिराखेको सम्मेलन केन्द्र ४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भइराखेको छ । सम्मेलन केन्द्रका लागि सरकारले ७२ करोडभन्दा बढी बजेट लागत अनुमान गरेको थियो । पछि ठेक्का लगाउँदा ५८ करोड २४ लाख रुपैयाँमा सम्झौता भएको हो ।

 

केसी सामान्तर जेभीले निर्माण गरिराखेको छ । ११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङ स्थल रहने छ ।

 

यसरी एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो भवन निर्माण हुन लागेको हो ।

 

सम्मेलन केन्द्रमा कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ब्लक ३ तलाको हुनेछ, जसमा आवश्यकता अनुसारको शौचालयको व्यवस्थासमेत गरिएको छ । मुख्य हलसँगै निर्माण हुने साना तथा अन्य कक्षको ब्लक समेटी एउटै हलको निर्माण हुनेछ ।

थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो Read Previous

थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

आजदेखि सेयर बजार खुल्ने, यस्तो छ सर्किट ब्रेकको व्यवस्था Read Next

आजदेखि सेयर बजार खुल्ने, यस्तो छ सर्किट ब्रेकको व्यवस्था