लकडाउनमा २३४ अन्तर्राष्ट्रिय उडान, निगमको मात्रै ५१ चार्टर्ड उडान

काठमाडौं । नेपालमा लकडाउनको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् ।

 

लकडाउनको ३ महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् ।

 

विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार लकडाउनको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टर्ड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् ।

 

यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन् ।यो अवधिमा विभिन्न मुलुकबाट चार लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ ।

 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मात्रै कार्गो चार्टर्ड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८ चार्टर्ड तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन् ।

 

जुलाई महिनामा चार्टर्ड उडानको पुनःनयाँ उडान तालिका आउने निगमले उल्लेख गरेको छ । निगमपछि हिमालय एयरलाइन्सले धेरै अन्तरराष्ट्रिय उडान गरेको छ । अन्तरराष्ट्रिय एयरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ । जजीरा, टर्किस, एयर अरेबिया, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गरेका छन् ।

 

बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकैदिन ८ अन्तरराष्ट्रिय उडान गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको ३ महिनाको अवधिमा नेपाली एयरलाइन्सकोतर्फबाट यो सबैभन्दा बढी अन्तरराष्ट्रिय उडान हो । निगमले कोभिडको त्रासमाझ शुक्रबार (जुन २६ तारिख) मात्रै आठ अन्तरराष्ट्रिय उडान गरेको जनाएको छ ।

 

निगमको अपरेशन विभागका अनुसार निगमका दुई वाइड बडी र दुई न्यारो बडी जहाजले बन्दाबन्दीको अवधिमा शुक्रबार सबैभन्दा धेरै ८ उडान गरेका छन् । निगमको न्यारो बडी एयरबस ए ३२० जहाजले बहराइनमा दुई, हङकङ दुई र मलेसियाको क्वालालम्पुरमा एक उडान गरेको छ । त्यस्तै वाइड बडी ए ३३० जहाजले क्वालालम्पुरमा दुई र साउदी अरेबियाको रियादमा एक उडान गरेको छ ।

 

असारमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तरराष्ट्रिय उडान भइरहेको छ । असारको पहिलो सातादेखि दैनिक १० देखि १६ अन्तरराष्ट्रिय उडान भएको छ । शुक्रबारमात्रै १६ अन्तरराष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । असार महिनाको शुरुदेखिनै विभिन्न मुलुकबाट अलपत्र नेपाली धमाधम चार्टर्ड उडान मार्फत स्वदेश फर्किरहेका छन् ।

 

बन्दाबन्दीमा गत चैत १९ निगमले सबैभन्दा लामो गन्तब्य अष्ट्रेलियाको ब्रिश्बेन र वैशाख २४ गते सिड्नीमा चार्टर्र्ड उडान गरेको थियो । पछिल्लो पटक निगमको वाइड बडी जहाजले जेठ २६ मा अष्ट्रेलियाको राजधानी क्यानबेरामा चार्टर्ड उडान गरेको थियो ।

 

मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै करिब १२ देखि १३ घण्टाको उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । अहिले विदेशमा अलपत्र नेपाली ल्याउनेक्रममा निगमको वाइड बडी जहाजले केही दिनअघि सिड्नी र क्यानबेराबाट नेपाली ल्याएको छ ।

 

गत चैत १० देखि नेपालमा अन्तरराष्ट्रिय उडान भर्ने सबै एयरलाइन्सको उडान स्थगन गरिएको छ । आन्तरिकतर्फ पनि उडान हाललाई स्थगित छ । पछिल्लो पटक असारको अन्तिम सातासम्म उडान प्रतिबन्ध कायम गरिएको छ ।

 

अहिले कुटनीतिक माध्यमबाट मात्रै चार्टर्र्ड उडान हुन्छ । पछिल्लो पटक सरकारले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेको छ । चैत ११ देखि जेठ ३२ सम्म सरकारले देशभर लकडाउन गरेको थियो ।

 

असार १ देखि बन्दाबन्दी केही खुकुलो बनाइएको छ । अत्यावश्यक कार्यालय, उद्योग, कलकारखाना तथा बजार मात्र खुकुलो बनाइएको छ । यस्तो व्यवस्था असार २१ सम्मका लागि हो । त्यसपछि परिस्थिति हेरेर निर्णय हुने जनाइएको छ ।

सरकारी कागज किर्ते गरी ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ Read Previous

सरकारी कागज किर्ते गरी ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

कोरोना संकट तीव्र गतिमा फैलिँदै, संक्रमितको संख्या १ करोड नाघ्यो Read Next

कोरोना संकट तीव्र गतिमा फैलिँदै, संक्रमितको संख्या १ करोड नाघ्यो